उत्तर कोरियाको मुद्धा चाँडै समाधान गर्न अमेरिकी राष्ट्रपतिको चीनलाई आग्रह

कपन अनलाइन 

बेइजिङ,२३ कात्तिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गरेका छन । हाल चीनको भ्रमणमा बेइजिङमा रहेका उनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई सो अग्रह गरेका हुन् । उनले भने– चीनले उत्तर कोरियाको समस्या समाधानका लागि जतिसक्दो चाँडै अग्रसरता लिओस र कडा मेहनेतका साथ काम गरोस भन्ने अमेरिका चाहन्छ ।

उनले समय छिटो छिटो अघि बढिरहेको छ तर उत्तर कोरिया भने आणविक सङ्कट झन चर्काउँदै छ, त्यसैले समाधानको बाटो पनि चाँडै खोजिनुपर्दछ । चिनियाँ राजधानी बेइजिङमा चीनका व्यापारिक प्रतिनिधिमण्डललाई सम्बोधनगर्दै उनले चीनलाई सो आग्रह गरेका हुन् । उनि बुधबार चीन पुगेका हुन्।

राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भने– मैले तपाईंहरुका महान राष्ट्रपतिलाई यो भनिरहेको छु कि जतिसक्दो चाँडै कोरिया सङ्कट समाधानको पहल होस् समय धेरै अघि बढिसकेको छ । बिहीबार राष्ट्रपति ट्रम्पले विभिन्न मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उनले यहाँका नेता तथा उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा उनि निकै आक्रामक बन्दै आएका छन। राष्ट्रपति ट्रम्पले बुधबार मात्र पनि दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै उत्तर कोरियालाई क्रुर एवम् तानाशाहको संज्ञा दिएका थिए । उनले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गरे। उनले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गरेका थिए।

सो आग्रह राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति चिनफिङसँगको भेटका क्रममा पनि दोहो¥याएका थिए । उनले चीनका व्यापारिक प्रतिनिधिमण्डल हुन् वा जुनसुकै मञ्चलाई सम्बोधन गर्ने क्रममा पनि सो धाराण राख्ने गरेका छन । राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गरेका थिए ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा मङ्गलबार मात्र गरेका सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गरेका थिए ।

कोरियाली प्रायद्वीप र अफगान मुद्धामा समन्वय हुन्छ– राष्ट्रपति चिनफिङ

यसैबीच चिनियाँ राष्ट्रपति सि चिनफिङले कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्धामा चीनले अमेरिकासँग समन्वय गर्ने बताएका छन ।बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति चिनफिङले भने– ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ ।

बिहीबार उनिहरुबीचको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गरेका बताइएको थियो । उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ ।

तपाइँको प्रतिक्रिया ।