शैक्षिक गुणस्तरका लागि व्यावहारिक शिक्षा
कपन अनलाइन
पोखरा, ३ साउन । शैक्षिक गुणस्तरका लागि प्रमाणपत्र लिनेमात्र नभई मौलिकता, सांस्कृतिक, मानवअधिकारमैत्री एवम् प्रविधियुक्त शिक्षाको खाँचो रहेको सोमबार आयोजित एक कार्यक्रममा औँल्याइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) द्वारा आयोजित पाँचदिने राष्ट्रिय दक्षता अभिवृद्धि तालीम उद्घाटनका अवसरमा वक्ताहरुले शिक्षालाई व्यावहारिक र मर्यादित बनाउनुपर्नेमा जोड दिएका हुन् ।
जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले मुलुकमा दुई किसिमको शिक्षा रहेको बताउँदै विश्व बजारमा सामुदायिक र निजी क्षेत्रको शिक्षाको कस्तो हैसियत रहेको छ त्यसको अध्ययन अनुसन्धान गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
यस वर्ष राज्यको कूल बजेटको ११ प्रतिशत र कूल गाहस्र्थ उत्पादनको तीन प्रतिशत लगानीले मुलुकको शैक्षिक विकासमा पर्याप्त नहुने बताउँदै उहाँले भन्नुभयो – “मुलुकका आधारभूत शिक्षाबाट वञ्चित ३.५ प्रतिशत बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सामूहिक प्रयास आवश्यक छ ।”
संस्थाका कार्यबाहक अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले सबैका लागि गुणस्तरीय, समावेशी, समतामूलक र जीवनोयोगी शिक्षाका पक्षमा संस्थाले गतिविधि अगाडि बढाउँदै आएको जानकारी दिए ।
इन्सेक पश्चिमाञ्चलका प्रमुख शिव खकुरेलले शिक्षालाई अधिकारसँग जोड्नु पर्ने बताउँदै राज्यले नीति तथा कार्यक्रममा सम्बोधन गरेपनि कार्यान्वयन हुन नसक्दा शैक्षिक गुणस्तर कायम हुन नसकेको धारणा राखे ।
शिक्षाका लागि राष्ट्रिय सञ्जाल, कास्कीका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका महासचिव डिल्लीराम सुवेदीलगायतले सहरी आकर्षण बढ्नु, पाठ्यपुस्तक समयमा नपुग्नु, शिक्षक समयमा नपुग्नु र विभिन्न बहानामा शुल्क लिइने गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटेको बताए ।
उक्त तालीममा मुलुकका विभिन्न ३० जिल्लाका ५० जनाको सहभागिता रहेको छ । रासस