"हरित कपन" कार्यक्रम बैशाखबाट लागु हुने
कपन अनलाइनअन्ततः कपन गाविसले वातावरण, पर्यावरण तथा प्रकृति बचाउने अभियानमा आफूलाई सक्रिय बनाएको छ । राजधानीमा कृषि तथा वनका क्षेत्रमा कार्यरत CFRDP भन्ने संस्थाले प्रस्ताव गरेको हरित कपन कार्यक्रमलाई पहिलो चरणमा रु. १ लाख प्रदान गरेर कपन गाविसले यो अभियानमा आफूलाई अगाडि बढाएको हो ।
हरित कपन कार्यक्रम आयोजना गर्ने CFRDP नामक संस्था र कपन गाविसले यो विषयमा सम्झौता गरेका छन् । आउँदो बैशाखको पहिलो हप्तादेखि हरित कपनअन्तर्गत कपन गाविसको वडा नं. २ मा एक घर एक चेरी कार्यक्रम लागु गरिनेछ । यो कार्यक्रमअन्तर्गत वडा नं. २ का सबै घरमा एक बोट चेरी अनिवार्य लगाउने वातावरण तयार गरिन्छ । यसका लागि कपन गाविस र सेवा प्रदायक CFRDP बीच आपसि तालमेलमा कार्यक्रम बनाइने कुरा यस संस्थाका सदस्य ल्यारी यार्गरले कपन अनलाइनलाई बताए ।
राजधानीमा कपन गाविसमा बाहेक काठमाडौं नगरपालिकामा पनि यसै वर्षदेखि रिङरोडमा १००० चेरीको बोट लगाउने काममा लागेको बताउँदै CFRDP का ल्यारी यार्गरले कपनमा पहिलो चरणमा वर्ष ५०० चेरीको बोट बाँडिने कार्यक्रम रहेको बताए । यसका लागि सबैभन्दा पहिला वातावरण तथा प्रकृति बचाउने अभियानमा सहभागि हुन तथा एक घर एक चेरी कार्यक्रममा सहभागि हुन आव्हानका साथ कपनका विभिन्न ठाउँमा ल्फेक्स बोर्डहरु लगाइने जानकारी पनि ल्यारी यार्गरले दिए । असारसम्ममा यो वर्षको कार्यक्रम सकिने पनि उनले बताए ।