प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न आह्वान
कपन अनलाइन
(विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली)
जेनेभा, ३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घजस्ता संस्थाले नेपाल जस्ता मुलुकमा भूकम्प आदि प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न प्रयास गर्नुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको (आइयुसिएन) मुख्यालयको शुक्रबार यहाँ भ्रमण गर्दै राष्ट्रपतिले सङ्घका विशेषज्ञसँगको छलफलका क्रममा पृथ्वीलाई बिगारेर होइन सिँगारेर नेपाली जनता अगाडि बढ्न सक्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारी सन् १९४८ मा स्थापना भएको सङ्घको कार्यालयमा आइपुग्नु हुँदा महानिर्देशक इङ्गर एन्डरसनले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले नेपालमा हाल बाघको सङ्ख्या बढेको, संरक्षण क्षेत्र विस्तार गर्ने सरकारको नीति तथा योजना भएको, पहिरो र बाढी व्यवस्थापनका लागि नदी प्रणालीमा सुधारका योजना अगाडि बढाइएको, चुरे संरक्षण क्षेत्र राष्ट्रिय गौरवको कार्यक्रममा परेको तथा सामुदायिक वन विस्तार भइरहेको उल्लेख गर्दै नेपालको प्रकृति विश्वको पनि सम्पदा भएकाले यसका संरक्षणमा सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
छलफलका क्रममा विशेषज्ञले नेपालमा बाघ, प्राकृतिक सम्पदा, र भिरालो जमिनको संरक्षण, राष्ट्रिय निकुञ्जको विस्तार, वातावरण संरक्षणमा अन्तर्राष्ट्रिय र क्षेत्रीय सम्बन्धको विकास, संरक्षण र प्राकृतिक संरचनाको विकासमा आइयुसिएनको क्रियाकलाप तथा परियोजनाका बारेमा जानकारी दिनुभएको थियो ।
आइयुसिएनले प्रकृति संरक्षण र प्राकृतिक स्रोतको दिगो उपयोगको ंविषयमा काम गरिहेको छ । सो संस्थासँग करिब एक हजार २०० सरकारी तथा गैरसरकारी संस्था सदस्य छन् ।
सो संस्थाको काममा करिब ११ हजार वैज्ञानिक तथा विशेषज्ञ स्वयम्सेवीका रूपमा काम गर्छन् । हाल सो संस्थामा ६० भन्दा बढी मुलुकका करिब एक हजार कर्मचारी काम गर्छन् । सो संस्था संयुक्त राष्ट्र सङ्घको परामर्शदात्री संस्था हो । संस्थालाई पहिले प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ वा विश्व संरक्षण सङ्घ भनी नाम दिइएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको वातावरण संरक्षणका विषयमा छोटो श्रव्यदृष्य अन्तर्वार्ता दिनुभयो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीलाई युनियनका महानिर्देशक इङ्गर एन्डरसनले वातावरण संरक्षणसम्बन्धी उपहार प्रदान गर्नुभयो ।
उक्त अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दीपक धिताल, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई, परराष्ट्र मन्त्रालयका प्रवक्ता र संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय सङ्गठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखाका सहसचिव भरतराज पौडेलको पनि उपस्थिति थियो । रासस