वुनपा ९ मा कांग्रेस बलियो, शंकर आचार्यसहित पाँचैजना सर्वसम्मत
कपन अनलाइन, काठमाडौँ । वुनपामा नेपाली कांग्रेस मजबुत भएको वडाको रुपमा लिइने वडा नं. ९ मा नेकाले सर्वसम्मतरुपमा शंकर आचार्यलाई वडाध्यक्ष सिफारिस गरेको छ । अन्य वडाहरुमा उम्मेदवार चयनका लागि गारो परिरहेको बेला वडा नं. ९ मा भने नेकाले सहजरुपमा सर्वसम्मत गरेर शंकर आचार्यसहितको ५ जनाको टिम घोषणा भएको छ ।
नेपाली कांग्रेस वडा नं. ९ का इकाई सभापति समेत रहेका आचार्यलाई वडामा मजबुत मानिन्छ । कपन अनलाइनले केही दिन अघि गरेको सर्वेक्षणमा पनि यस वडामा नेपाली कांगेस मजबुत देखिएको थियो । नेपाली कांग्रेसभित्र पनि शंकर आचार्यलाई मजबुत उम्मेदवार मानिएको थियो ।
जनमत अनुरुपकै उम्मेदवार बन्न पुगेको आचार्यलाई सहज विजय पाउनका लागि एमालेका राजेन्द्रप्रसाद सापकोटा र माओवादी केन्द्रका राम देवकोटालाई पराजित गर्नुपर्नेछ । यस वडामा नेपाली कांग्रेसले वडाध्यक्षमा शंकर आचार्यसहित सदस्यहरु जया भण्डारी, रामानुज शर्मा, कमला खड्का र अर्चना वर्देवा उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ । वडाध्यक्ष सिफारिस भएका शंकर आचार्य र उनको टिम घर घर पुगिरहेको छ ।