अब बुनपा मेयरमा राजु श्रेष्ठ आफै कि अरू कोही ?
कपन अनलाइन, काठमाडौँ । स्थानीय निकाय निर्वाचन विशेष/केशव पाठक
राजनीतिमा हरेक कुराको संभावना छ भनिन्छ । २ दिन अघिसम्म नेकाबाट नगरपालिकाको मेयर उपमेयर पदको उम्मेदवार पार्टीको संसदीय समितिले छान्ने कुरा थियो । बुनपाको मेयर को बन्ने भन्ने विषयमा क्षेत्रीय सभापति राजु श्रेष्ठको भूमिका खासै छैन भनिन्थ्यो । तर हिजो साँझ नेपाली कांग्रेसले मेयर उपमेयर टिकट दुई क्षेत्र भएको नगरपालिकामा जिल्लाले बाँड्ने भने पछि डाडु पन्यू अब राजु श्रेष्ठको हातमा आएको छ । राजनीतिमा आफ्नै हातमा डाडुपन्यू हुने कतिपय अवस्थामा असहज पनि मानिए मेयर, उपमेयर तथा वडाध्यक्षको टिकट बाँड्ने काममा अब राजु श्रेष्ठको निर्णय सर्वमान्य हुने अवस्था देखिएको छ ।
क्षेत्रको सिफारिसमा जिल्लाले बाँड्ने मेयर तथा उपमेयर पदको टिकट कस्लाई के आधारमा दिने भन्ने राजु श्रेष्ठको निर्णयमा सम्भवतः अब कसैले रोक्न सक्ने अबस्था छैन । क्षेत्र नंं ५ का सभापति रमेश खड्का पनि राजुको कुरा नटार्ने प्रवृतिका मानिन्छन् । त्यसैगरी जिल्ला सभापति सबुज बानियाँ झनै हितैषी मनिन्छन् । सबुज बानियाँ र राजु श्रेष्ठबीचको सुमधुर सम्बन्ध काठमाडौं नेका राजनीतिमा चर्चित पनि छ ।
बुनपा मेयरका लागि राजु श्रेष्ठ आफै उम्मेदवार बन्नको लागि मात्र नभैकन आफ्ना मानिसलाई टिकट बाँड्नलाई पनि पार्टीको नयाँ मापदण्डले सहयोगी भूमिका खेल्ने छ । यसरी आफैले डाडुपन्यु चलाउँदा कतिपय अबस्थामा गलत निर्णय हुने पनि देखिन्छ भने यो भूमिका आफैमा अपजसे पनि हो । बुनपामा राजुले गरेको निर्णय अनुसारको उम्मेदवारले जित्न सक्यो भने त निकै नै प्रभावकारी हुने छ तर कारणवश हारियो भने यसको अपजसले जीवनभर कहिल्यै छाड्ने छैन । त्यसैले साथीभाइ राख्ने वा शक्तिकेन्द्र रिझाउने नाममा राजुले अरुको नाम सिफारिस गर्नुभन्दा जीतको आधार तय गर्न आफै उम्मेदवार हुनु राम्रो हो भन्नेहरु धेरै छन् ।
राजु श्रेष्ठको हातमा डाडुपन्यू आउने बित्तिकै हिजोसम्म दृष्यमा देखिए पनि टिकट पाउने रेसमा नरहेका भनिने गोकर्ण केसी अब दृष्यमा आएका छन् । राजुका अत्यन्त निकट मानिने केसी प्रकाशमान सिंहका निकट बनेर बुनपामा राजनीति गरिरहेका व्यक्ति भनेर पनि चिनिन्छन् । त्यसैगरी राजुका अर्का निकट मानिने नगर सहजीकरण सदस्य राजाराम बुढाथोकीको सम्भावना अब बढेर गएको छ ।
राजु श्रेष्ठका निकट भएका कारण गोकर्ण केसीले आफूले टिकट पाउनु पर्ने माग मात्र हैन प्रकाशमान सिंहमार्फत दवाब पनि दिने छन् । जिल्ला सभापति सबुज बानियाँ पनि प्रकाशमान सिंहका मानिस भएकाले कहिँकतै प्रकाशमान सिंह पक्षीय मान्छे नै मेयर, उपमेयर हुने सम्भावना अब बुनपामा बढेको छ ।
पार्टीको तय गरेको मापदण्डले निर्वाचन क्षेत्रको सांसदलाई खासै महत्व दिएको छैन । क्षेत्र तथा जिल्लाले सिफारिस गर्दा सांसद वा सांसदमा पदमा लडेको व्यक्तिको सहभागितामा गर्ने भनिए पनि सभापति नै यो कार्यमा प्रमुख हुने छ । नयाँ मापदण्डले क्षेत्र नं. ४ र ५ का सांसदहरु गगन थापा र नरहरी आचार्यले चाहेको मानिसले टिकट पाउने सम्भावना अब कमजोर भएको छ । यस अबस्थामा संभावित दावेदार मानिएका न्हुच्छेनारायण श्रेष्ठ, गणेश कोइराला, विनोद चालिसे अब रेसमा पछाडि परेका छन् भने मध्यमार्गी भनेर शक्ति केन्द्र धाइरहेका आत्माराम पौडेल पनि दौडमा छैनन् ।
क्षेत्रीय सभापतिको हातमा डाडु पन्यु भएको बेला राजु श्रेष्ठले आफैले आफ्नो सिफारिस गर्न सजिलो नभए पनि बुनपामा नेका जीतका लागि राजु जति प्रभावकारी कोही नहुने कुरामा शंका छैन । गोकर्ण केसी लोकप्रियता र सांगठनिक दक्षताको कसीमा उत्कृष्ट नमानिए पनि शक्ति केन्द्र निकट मानिन्छन् । अर्का संभावित व्यक्ति राजाराम बुढाथोकी राजु श्रेष्ठ निकट हुनु र कपनका स्थानीय हुनुको आधारमा महत्वपूर्ण मानिन्छन् ।
राजु श्रेष्ठले आफू उम्मेदवार नबन्ने अवस्था सम्भवतः केसी र बुढाथोकीमध्ये एकलाई उम्मेदवार बनाउन सक्नेछन् । जनाधारको हिसाबमा अहिलेको अवस्थामा केसीभन्दा बुढाथोकी अगाडि मानिन्छन् । यसको एकमात्र कारण बुढाथोकी कपनवासी हुनु हो । कपनले बुनपाको ३५ प्रतिशत मतदाता ओगटेको छ । तर संगठनमा पूराना नेताको रुपमा र प्रकाशमान सिंहको निकट भएका कारण गोकर्ण केसी उचाई बुढाथोकीभन्दा बढि देखिन्छ ।
काठमाडौंको क्षेत्र नं. ४ र ५ मा पछिल्ला दुई निर्वाचनमा कांग्रेसले प्रभावशाली जीत हात पार्दै आएको बेला बुनपा नामको यस स्थानीय निकायमा नेकाले जीतका आधार तय उम्मेदवार छनौटले नै गर्ने देखिन्छ । विपक्षीहरुको मनोबल नै गिर्ने खालको निर्णय गर्न राजु श्रेष्ठ सक्षम होलान् ? के संभावित बिजेता भनिएका राजु श्रेष्ठ आफैले टिकट लिएर आफूले बनाएको संगठन र प्रभावलाई प्रयोग गार्लान् ? कि गोकर्ण र राजाराममध्ये एकका नाममा जुवा खेल्लान् ? अब सबै कुरा राजु श्रेष्ठको हातमा छ ।