बौद्धिक र कुशल प्रशासक छविका जयराम थापा बुनपा मेयरमा सम्भावना खोज्दै
कपन अनलाइन, काठमाडौँ ।
स्थानीय निकाय निर्वाचन विशेष/केशव पाठक
नगरपालिकाको वर्तमान काम, कर्तव्य र अधिकारलाई हेर्दा यो सामन्य राजनीतिक कार्यकर्ताले आँट्ने खालको पदमात्र नरहेको प्रतित हुन्छ । यो पद संहाल्न फलानो पार्टीको फलानो लेबलको नेता भनेर मात्र पुग्ने अवस्था छैन वा २० वर्षअघि गाविस चलाएको भन्ने आधारमात्र पनि पर्याप्त छैन । मेयरसँग विशिष्ट प्रशासकीय दक्षता तथा बौद्धिकताको खेल सबैभन्दा महत्वको विषय हुने देखिन्छ । पार्टीहरुले यो कसीलाई आधार बनाएर टिकट बाँडेनन् भने ती मान्छेले मेयर हाँक्न साँच्चै कठिन हुने कुरामा दुईमत छैन ।
आगामी स्थानीय निकाय चुनावमा बुनपाभित्र यस लेबलको नेताले टिकट पाउलान् कि नपाउलान् भन्ने ढंगले पनि धेरैले आंकलन, अध्ययन र अनुमान गरिरहेका छन् । स्थानीय निकाय चुनावमा पार्टी वा चुनाव चिन्हभन्दा पनि व्यक्ति र उसको छविलाई पहिलो प्राथमिकता दिने गरिन्छ, यो विश्वभरको अभ्यास हो । बुनपामा बौद्धिक र कुशल प्रशासक मानिने व्यक्तिको अभाव हैन तर के त्यस्ता मानिसलाई पार्टीले टिकट देला ? यो चाहिँ प्रश्न चिन्ह हुनसक्छ । तथापि जयराम थापा यस्ता व्यक्ति हुन् जो बौद्धिक छन् र उनले आफू कुशल प्रशासक हुन् भनेर प्रमाणित पनि गरिसकेका छन् । राइट टु डेभलपमेन्ट विषयमा पिएचडि गर्ने तयारी गरिरहेको स्नातकोत्तर जयराम थापा एमालेभित्र पहुँच भएका व्यक्ति पनि हुन् । उमेरले युवा तर कानुनविद् तथा शिक्षाविद् बनिसकेका जयराम थापा एमालेबाट बुनपामा संभावित मेयरका दावेदारमध्ये एक हुन् ।
विश्वप्रशिद्ध हिन्दू धार्मिक तीर्थस्थल बुढानिलकण्ठ रहेको बुढानिलकण्ठ क्षेत्र विकास समितिमा करिब साँढे दुई वर्षदेखि अध्यक्ष बनेर कुशल प्रशासकीय दक्षता देखाइरहेका जयराम थापा राम्रा वक्ता पनि हुन् । उम्मेदवारको रुपमा एक प्याकेजझैँ लाग्ने जयराम थापालाई एमालेले आगामी स्थानीय निकाय चुनावमा उम्मेदवारको रुपमा प्रस्तुत गर्यो भने विपक्षी नेका र माओवादी केन्द्रका लागि ठूलो चुनौति हुनेमा शंका छैन । चपलीमा रहेको ठूलो थापा परिवार र त्यो परिवारले बोकेको विशाल चिनजानले स्थानीय निकाय चुनाव प्रभावित हुने बताइन्छ । थापा परिवारको यो पृष्ठभूमिसँग विकास बुझेको मान्छे र विकासमा पहल तथा योजना ल्याउन सक्ने व्यक्तिको रुपमा पनि जयरामलाई अब्बल बनाउँछ ।
एमालेभित्रको पहुँचमा यस क्षेत्रको अरु नेताभन्दा उनीलाई नै अगाडि मानिन्छ । साँढे दुई वर्षअघि बुढानिलकण्ठ क्षेत्र विकास समितिमा अध्यक्षका नाम आउँदा अहिले बुनपा मेयरमा संभावित एमाले उम्मेदवार भनिनेहरुमध्ये धेरैजना प्रतिष्पर्धि थिए जयराम थापाका । पूर्व गाविस अध्यक्ष वा फलानोको निकट भनेर चिनिनेहरुबीच थापाले सहजै विशिष्ट श्रेणीको यो पद आफूले ल्याएका थिए । राजनीतिक नियुक्ति भए पनि लाभको पद नमानिने क्षेत्र विकास समितिको अध्यक्षको पदमा आएपछि उनले यस अघिका समितिलेभन्दा उम्दा काम गरेर देखाए ।
बुढानिलकण्ठ मन्दिरको विकासमा नै प्रभावित पारिरहेका केही समस्यालाई उनले कुटनीतिक र मर्यादित रुपले हल गरेका छन् । बुढानिलकण्ठभित्र रहेका अरु ३ वटा समिति र क्षेत्र विकास समितिबीच लामो समयदेखिको आन्तरिक द्वन्द्वलाई थापाले मिलाए र एक बनाएका छन् । ८० रोपनी क्षेत्रसहितको बुढानिलकण्ठ क्षेत्र गुरुयोजना बनाएर सरकारमा पेश गरेका मात्र उनले । यही वर्ष संभावना र समस्याहरुका लागि भनेर सरकारले १ करोड अध्ययनका लागि बजेट छुट्याएको छ । ३ अर्ब रुपैँयाको यो वृहत गुरुयोजना शुरु हुँदा यो जस जयराम थापालाई नै जान्छ ।
जयराम थापा बुढानिलकण्ठ क्षेत्र विकास समितिमा आएपछि बुढानिलकण्ठको विशेष प्रचारप्रसार गर्न बुढानिलकण्ठ महोत्सवजस्तो भव्य कार्यक्रम आयोजना गरे । प्रधानमन्त्रीले उद्घाटन गरेको यो कार्यक्रमबाट बुढानिलकण्ठको महत्वले झनै बृहतरुप धारण गरेको थियो । यो अलावा अरु थुप्रै प्रशासकीय र कुटनीतिक पहल उनले गरेका कारण बुढानिलकण्ठ क्षेत्र विकास समितिमा उनको कार्यकाललाई अर्थपूर्ण बनाएको छ ।
धर्म संस्कृति, पर्यटन र विकासका क्षेत्रमा उनले क्षेत्र विकास समितिमा गरेको योगदानलाई धेरैले बुनपाको मेयरमा आउनु पर्ने मानिसको रुपमा लिएका छन् । ४ महिना अघि कपन अनलाइनले गरेको सर्वेक्षेणमा एमाले तर्फबाट मेयर पदका लागि जयराम थापाको नाम लिनेहरुको संख्या उल्लेख्य थियो भने कपन अनलाइनमा संभावित एमाले उम्मेदवारको सूचिमा जयराम थापालाई धेरै रुचाएर कमेन्ट गरेका छन् ।
२ दशक लामो एमालेभित्रको राजनीतिक संलग्नताले थापालाई पार्टीभित्र चिनिने पात्रको रुपमा लिइन्छ । एमाले अध्यक्ष ओली चक्रपथबाट भित्र कुनै कामले छिरे भने उनले सम्झने पहिलो पात्र नै थापा हुन् भन्ने सबैलाई थाहा भएको विषय हो । कानुन व्यवसायी भएर काम गरेका अनुभवमात्र नभै पार्टीको क्षेत्र नं. ४ बुद्धिजिवीका प्रमुख, पार्टी क्षेत्रीय सदस्य बनेर संगठनका लागि थापा गाउँगाउँ छिरेका छन् थापा । हिसान, प्याब्सनजस्ता अर्थपूर्ण संस्थासँगको संलग्नताले उनको मेयर उम्मेदवारका लागि गरिने उचाई प्रभावशाली भएको सहजै अनुमान गर्न सकिन्छ ।
राजनीतिमा जे पनि हुनसक्छ भन्ने सस्तो सुत्र लागु हुन्छ । मानिस जति असल र लोकप्रिय भए पनि टिकट पाउने स्थानसम्म उसको पहुँच अरु सबैभन्दा प्रभावकारी हुनु नै एकमात्र छनौटको आधार भएकोले यो आधारमा अरुभन्दा अब्बल हुन सके भने आगामी बैशाख ३१ गते हुने स्थानीय निकाय निर्वाचनमा बुनपा मेयरमा एमालेको उम्मेदवार जयराम थापा हुने छन् ।