नेकाभित्रको गुटगत समस्याले बुनपा स्थानीय निकाय चुनावमा असर पर्ने
कपन अनलाइन, काठमाडौँ । १३ औँ महाधिवेशनपछि काठमाडौं क्षेत्र नं. ४ नेपाली कांग्रेसमा देखिएको पानी बाराबारको अवस्थामा कम भएको छैन । केही कार्यक्रममा क्षेत्रीय सभापतिल राजु श्रेष्ठले कुनै समस्या नभएको बताए पनि आमरुपमा प्रष्ट देखिएको दुई धारले महानगरपालिकाको ४ वटा वडामा खासै प्रभाव नभएर पनि बुनपामा समस्या बनाउन सक्ने देखिन्छ । क्षेत्रीय सभापति राजु श्रेष्ठ र सचिव विनोद चालिसेबीचको बढ्दो दुरीले यो संकेत देखाएको छ ।
बुनपामा बसोबास गर्ने क्षेत्रीय सचिव चालिसेसहित पूर्व क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठलगायत धेरै क्षेत्रीय सदस्यहरु क्षेत्रीय सभापतिको गुटभन्दा बाहिर छन् । क्षेत्रीय सभापति क्षेत्रीयस्तरको बैठक तथा अन्य कार्यक्रमहरुमासमेत उनीहरुलाई बोलाउने नगरेको बताउँदै आएका छन् । त्यसैगरी क्षेत्रीय सभापति राजु श्रेष्ठसहित, महासमिति सदस्य कर्माछिरिङ शेर्पालगायत नेताहरु भने सांसद गगन थापाको निर्देशनमा सचिवलगायतका सदस्यहरुले क्षेत्रलाई असहयोग गरिरहेको बताउँदै आएका छन् ।
१ वर्षभन्दा लामोसमयसम्म अधिवेशनको तुष नहट्नुले आउँदो स्थानीय निकाय चुनावमा यसले पार्ने प्रभाव डरलाग्दो हुने धेरै अनुमान गरिरहेका छन् । एकातिर भुँइफुट्टा स्वरुपका नेताहरु पनि मेयरमा दावी गर्ने समस्या छ भने अर्काेतिर सभापति राजु श्रेष्ठबाहेक अन्य नेता मेयरमा उठे बिजयको सम्भावना कम रहेको तथ्य छ । सांसदसमेत रहेका गगन थापाले लामो समयदेखि क्षेत्रको राजनीतिमा देखाएको मौनता र राजु श्रेष्ठले विरोधी पक्षमाथि देखाउन नसकेको सदासयताले कतै बुनपा चुनावमा नेकाको अवस्थामा निकै कमजोर त हुने हैन भन्ने कोणबाट हेरिन थालिएको छ ।
गुटगत राजनीतिका नाममा एकअर्कालाई तल झार्ने खालको खेल मौलाउँदै गएको खण्डमा यसको फाइदा एमाले तथा माओवादी केन्द्रले लिने प्रष्ट सन्देश पाउँदा पनि परिस्थिति फेरिएको छैन । विशेष गरेर नेकाभित्र भएको फुटको फाइदा माओवादी केन्द्रका रविन अधिकारीले लिने चौतर्फि चर्चा छ । सामाजिक सन्जालमा नेका र एमालेभन्दा निकै अगाडि फ्यान फलोअर भएका रविनले नेकाका युवा पंक्तिलाई आफूतिर आकर्षित गरेका अवस्था छ ।
सांसद गगन थापाका बिरोधी छवि बनाए पनि थापाले सकारात्मक दृष्टि बनाएर राजु श्रेष्ठलाई मेयर उम्मेदवार दिए र श्रेष्ठले सबैलाई समेटे भने बुनपामा नेकालाई बलियो बताइन्छ । यो सम्भावनामा थापा र श्रेष्ठ दुवैले चासो राख्ने हो वा हैन हेर्न बाँकी छ । क्षेत्र नं. ४ र बुनपामा गगन थापाका मानिस हुँ भन्दै क्षेत्रीय सभापतिको विरोध गर्ने र राजु श्रेष्ठका नाममा गगन थापाको कटु आलोचना गर्नेहरुलाई थापा र श्रेष्ठ कति व्यालेन्समा ल्याउन सक्लान् त्यसले पनि चुनावमा प्रभाव पार्ने देखिन्छ ।