निर्वाचनका लागि बाँकेमा राजनीतिक सक्रियता बढ्दो

कपन अनलाइन 

(नीरज गौतम)

नेपालगन्ज, २७ फागुन । बाँके जिल्लामा प्रायः सबैजसो राजनीतिक दलको स्थानीय निकाय निर्वाचनमा सक्रियता बढ्न थालेपछि यहाँका नागरिकमा तोकिएको समयमा स्थानीय निकायको निर्वाचन हुन्छ भन्ने विश्वास क्रमशः बढ्न थालेको छ ।

त्यसो त पटकपटक निर्वाचन हुने वा नहुने अवस्थामा गुज्रिएका यहाँका नागरिकमा मिति घोषणा भएर पनि निर्वाचन हुँदैन कि भन्ने आशङ्काले पनि छाड्न सकेको छैन ।

कतै फेरि पनि राजनीतिक दलको विमतिले निर्वाचनको मिति पर सर्ने त होइन ? भन्ने आशङ्का उनीहरुमा पूर्णरुपमा हटेको पनि छैन् ।

बाँके जिल्लाका अधिकांश नागरिक मात्र होइनन्, यहाँका राजनीतिक दलका जिल्लास्तरीय नेताले समेत तोकिएको समयमा स्थानीय निकायको निर्वाचन हुन्छ भन्ने गरेको पाइन्छ ।

‘हामीले निर्वाचन केन्द्रित अभियान जिल्लाका गाउँगाउँमा सञ्चालन गरिसकेकाले पनि यहाँका नागरिक निर्वाचनप्रति विस्तारै विश्वस्त हुन थालेका छन्’ नेपाली काँग्रेसका युवा नेता रवि हमालको भनाइ छ ।

यहाँका उद्योगी, व्यापारी, पत्रकार, कानुन व्यवसायी, चिकित्सक, नागरिक समाजका अगुवा, समाजसेवी, विद्यार्थी, कर्मचारी, गृहिणीलगायत आम नागरिकले ‘निर्वाचन हुनुपर्छ, निर्वाचनबाहेक अन्य विकल्प पनि छैन’ भन्ने गर्छन, तर उनीहरुको मनमा अहिले पनि ‘कतै निर्वाचनको मिति सार्ने हुन् कि’ भन्ने आशङ्का पनि हट्न सकेको पाइँदैन ।

जिल्लाका सबै समुदाय तथा व्यवसायीको जमघट, सार्वजनिक अन्तक्र्रिया, गोष्ठी सेमिनार मात्र होइन, ‘चिया गफ’ मा पनि निर्वाचन नै छलफलको प्रमुख विषय बन्ने गरेकाले पनि निर्वाचनप्रति सबै सकारात्मक हँुदै गएको आभाष पाइन्छ ।

केन्द्रबाट समेत प्रमुख राजनीतिक दलका नेताको अहिले जिल्ला दौडाहा सुरु भएकाले पनि तोकिएको समयमा निर्वाचन हुन्छ भन्ने छनक देखिन थालेको छ ।

नेताहरुले निर्वाचनका विषयमा घरदैलो, नागरिक समाजसँग छलफल, समुदायसँगको भेटघाट कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने क्रममा नेतालाई नागरिकको प्रश्न हुन्छ–‘निर्वाचन हुने के ग्यारेन्टी छ, कतै फेरि राजनीतिक असहमतिले निर्वाचन रोकिने त होइन ?’

यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालय, बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीका अनुसार गत असोज मसान्तसम्म सङ्कलन गरिएको लगतअनुसार यस जिल्लामा दुई लाख ४० हजार ९८७ मतदाता रहेको छन ।

कुल मतदातामध्ये एक लाख १७ हजार ८०३ महिला र पुरुष एक लाख २३ हजार १८३ रहेको छन् । तर, अन्तिम मतदाता नामावली अद्यावधिक गर्न केही प्रक्रिया बाँकी रहेकाले नामावलीमा केही सङ्ख्या थपघट हुनसक्ने सूचना अधिकारीले बताउनुभयो ।

सो कार्यालयका अनुसार हालसम्म स्थानीय निर्वाचन प्रयोजनका लागि यहाका २७ दलले निर्वाचन कार्यालयका दल दर्ता गराएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।