बुनपामा मेयर उम्मेदवार को र किन ?

कपन अनलाइन, काठमाडौँ /राजनीतिक लेख/केशव पाठक  काठमाडौं क्षेत्र नं. ४ भित्रको हिस्सा भएर हुन सक्छ बुढानिलकण्ठ नगरपालिकाको स्थानीय निकाय सरकारका बारेमा अन्ततिरभन्दा बढि चासो राखिने गरिन्छ ।राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, स्वास्थ्य मन्त्री गगनकुमार थापा, नेका सभापति शेरबहादुर देउवालगायत धेरै व्यक्तिहरुसँग प्रत्यक्ष सरोकार राख्ने नगरपालिका भएकाले यसको महत्व राष्ट्रियस्तरको छ ।

 

गत संबिधानसभा निर्वाचनमा चर्चित युवा नेता गगन थापाले अत्याधिक बहुमत ल्याएर निर्वाचित भएको क्षेत्रको महत्वपूर्ण हिस्साभित्र नेका, एमाले र माओवादी केन्द्रसहित राप्रपाले आउँदो बैशाख ३१ गते हुने निर्वाचनपश्चातको स्थानीय सरकारका लागि तयार गरिरहेका छन् । यी पार्टीहरुमा को मेयर पद वा वडाध्यक्ष हुने बहश पनि तात्न थालिसकेको छ । गत दुई संबिधानसभा चुनावमा नेकाका नेताले पूर्णरुपेण चुनाव जितेको एरिया भए पनि बुनपाले ओगटेको सम्पूर्ण भेक ०५४ सालको स्थानीय निकाय चुनावमा एमालेले लालझण्डा फहराएको गाविसहरुको किल्ला पनि हो । कुनै समय राजधानीमा माओवादीको आधार इलाका मानिएको कपन पनि बुनपाको सबैभन्दा महत्वपूर्ण हिस्सा हो ।

 

 

वार्षिक ३५ करोडको बजेट, पुगनपुग ५० हजार मतदाता र करिब सवा लाख जनसंख्या छ बुढानिलकण्ठ नगरपालिकामा । यो बाहेक शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको महत्वपूर्ण हिस्सा, लिच्छविकालिन प्रशिद्ध बुढानिलकण्ठ मन्दिरजस्ता धरोहरले सुसज्जित छ बुनपा । संभावना र चुनौति दुवै बराबरी रहेको मानिने बुनपाको मेयर पद यतिखेर फेशबुकमा मेयर पदको दावी गरिएजस्तै सजिलो र सस्तो छ त ?

 
सामाजिक संजालको सस्तो प्रयोगको दर्दनाक अबस्थामा गुज्रिरहेको नेपालको डिजिटल संसारमा बुनपाका केही पात्रहरुले सस्तोरुपमा मेयर पदको दावी गरिरहँदा धेरैले गाविस चलाएझैँ सोचेका हुन सक्छन् । यद्यपि काठमाडौँ जिल्लामा गाविस अध्यक्ष पद नै पनि सजिलो विषय थिएन । मेयर उपमेयर पदको दावी गरिने सिलसिलाका बीच बुनपाको मेयरजस्तो गह्रौँ पात्रको चयनमा नेका, एमाले, माओवादी केन्द्र र राप्रपाले कति गतिलो र उन्नत पाइला चलाउलान् भन्ने विषय यतिखेर सर्वाधिक गम्भीर विषय हो । यद्यपि यो गम्भीर विषयका बारे बहश हुने कोणसमेत सृजना हुन सकेको छैन ।स्थानीस्तरका नेताहरु माथिल्ला नेताहरुको चाकडीबाटै टिकट पाउने पूरानो परम्परालाई अवलम्बन गरिरहेका छन् । पात्र र महत्व हेरेरभन्दा नेताका नजिक को हुने विषयमा बुनपाभित्रका दलका नेताहरु केन्द्रित छन् ।
राज्यमन्त्रीसरहको हैसियत, लगभग १ अरबको प्रत्यक्ष बजेटसहित हरेक जनतासँग प्रत्यक्ष सरोकार राख्ने मेयर पदका लागि योग्य हुने दायराको नै अभाव छ दलहरुमा । कोही पूर्व गाविस अध्यक्ष हुँ भन्ने योग्यता त कोही सहजीकरण सदस्य हुँ भन्ने योग्यता वा कोही नेताको नजिक हुँ भन्ने योग्यता नै अहिलेको बुनपा मेयरको योग्यताको आधार बनेको छ ।

 

यही बिडम्बनाबीच यतिखेर नेपाली कांग्रेस र एमालेबाट आएको आधा दर्जन नामहरु हेर्दा सही व्यक्ति मेयरमा ल्याउलान् पार्टीहरुले भन्ने विषय नै पनि चिन्ताग्रस्त छ । नेकाबाट चर्चामा रहेका गोकर्ण केसी, न्हुच्छेनारायण श्रेष्ठ, भीमसेन खत्री, आत्माराम पौडेल, राजाराम बुढाथोकी, गणेश कोइरालाले यो पदको गम्भीरतालाई आत्मसात गर्लान् वा नगर्लान् भन्ने कोणमात्र हैन यिनीहरुको केन्द्रिय नेताहरुको नजदिकीका आधारमा हुनसक्ने चयनलाईसमेत बहश बन्नु आवश्यक छ ।

 
नेकाबाट सामाजिक संजालमार्फत दावी गरिएका यी नामहरुले नगरपालिका प्रमुखको कार्यभार संहाल्न सक्दैनन् भन्ने सत्य एकातिर छ भने नेका क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ यो पदका लागि सर्वाधिक योग्य हुन् भन्ने तर्कको मजबुती अर्काे पक्ष छ । राजनीतिक उचाई, सामाजिक कृयाशिलता तथा दुरगामी सोचका कारण राजु श्रेष्ठ नै यो पदका लागि योग्य भनेर जताततै चर्चा भए पनि राजु आफै भने पर्ख हेर भन्ने नीतिमा मग्न छन् । उनको यो पर्ख हेर भन्ने तथ्यले कतै अनुपयुक्त व्यक्ति कांग्रेसले मेयर पदमा प्रस्तवित होलान् कि भन्ने डर नेका वृत्तमा छ । राजु श्रेष्ठको निर्णय क्षमता, दक्षता र राजनीतिक उचाई मापनको घडिको रुपमा यो निर्वाचनलाई लिन सकिन्छ ।
०५४ सालको स्थानीय निर्वाचनमा हाल बुनपा समेटिएको ६ वटै गाविसमा एमालेको लालझण्डा थियो । समयक्रमसँगै पछिल्ला समयमा यी क्षेत्रमा कांग्रेसको जनाधार बाक्लिएको मानिन्छ । यसका लागि संबिधानसभा निर्वाचनमा कांग्रेसभन्दा कमजोर उम्मेदवार एमालेले उठायो भन्ने तर्क सबैतिर छ । आउँदो स्थानीय निकाय चुनावमा पनि यो विषयको गम्भीरताले एमालेलाई छुन सक्छ । एमालेले पनि टिकटका लागि पूर्व गाविस अध्यक्ष, सहजीकरण सदस्य वा नेता निकट भन्ने परिधिबाहेकको योग्यता पहिल्याउने छाँट नदेखाउने हो भने सारमा मेयर पद अर्थहिन हुनसक्छ । एमालेबाट बुनपाको लागि संभावित मेयरको नाममा उद्धव खरेल, बिदुरबिक्रम खड्का, जयराम थापा, बालकृष्ण श्रेष्ठ, दीपक निरौला, संगम गहतराज, कुसुम कार्की आदिका नाममा चर्चामा छन् । यी बाहेक अरु पनि आंकाक्षीहरु रहेको बताइने गरिएको छ ।

 

नेकामा राजु श्रेष्ठजस्तै एमालेमा पनि क्षेत्र नं. ४ अध्यक्ष कुुसुम कार्कीको भूमिका, दक्षता र कृयाशिलताले आगामी १० वर्ष बुनपाभित्र एमालेको हैसियत कस्तो रहने भन्ने कुरा निहित गर्नेछ । टिकट दिँदा जित्नसक्ने मात्र नभै ५ वर्ष मेयर पद चलाउन सक्ने व्यक्ति चयन गर्ने वातावरण बनाउने प्रमुख काम क्षेत्रीय अध्यक्ष कार्कीको नै हो । उनी खरो उत्रनु पर्ने अबस्थामात्र हैन उनले नै टिकट लिएर पार्टी र बुनपालाई नयाँ दिशा दिने जिम्मेवारीको उच्चतम बिन्दुमा कार्की छन् ।

 
कुनै समय बुनपाले समेटेको कपन क्षेत्र र आसपास माओवादीको उर्बर भूमि मानिन्थ्यो । धेरैभन्दा धेरै व्यक्तिका लागाव माओवादीतिरै थियो । माओवादी टुक्रिँदै जाने क्रममा स्थानीय नेताहरु लाखापाखा लागे । यतिखेर माओवादी केन्द्र नगर संयोजक रविन अधिकारीलाई भजाएर संगठन बनाउन व्यस्त छ । रविनको सक्रियतालाई धेरैले महत्वपूर्ण मानेका मात्र छैनन् जीतहारको निर्णायक शक्तिसमेत भन्न थालेका छन् । बुनपामा युवाहरुमाझ रविनको क्रेज बढेको छ । नगरपालिका सहजीकरण समितिमा बसेर रविनले काखापाखा नगरी गरेका कामको मूल्य लिने मौका पनि हो स्थानीय निर्वाचन । रविनलाई माओवादी केन्द्रबाट मेयर टिकट पाउन कुनै दुःख गर्न पर्ने अबस्था छैन ।

 

रविनको हैसियतलाई आंकलन गर्ने क्षमता बुनपमा रहेका अरु माओवादी नेतामा देखिदैन । तथापि ठाकुरप्रसाद खकुरेल, डम्बर अधिकारी, संजय अर्याल, पुरुषोत्तम कोइरालालगायत नेताहरुलाई रविनले अगाडि बढाउने सम्भावना भने बाँकी छ । यदि जीतको सम्भावना नरहने हो भने उम्मेदवारमात्र बन्ने मुडमा रविन अधिकारी देखिदैनन् । संगठन र जीतहारको अवस्था आंकलन गर्न व्यस्त रहेका अधिकारी आफूुसँग बुनपामा विकासको खाका रहेको बताउँदै पनि आएका छन् । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनले माओवादी केन्द्रको शक्ति कति फराकिलो र कति लामो छ भन्ने कुराको निर्धारणसमेत गर्नेछ । यसका लागि रविनको भूमिका नै बुनपामा माओवादी केन्द्रको मूल आधार हो ।

 
त्यसैगरी अस्तित्वमात्रै जोगाउने पक्षमा देखिए पनि राप्रपाको हैसियतले अन्य पार्टीको हैसियत मापन हुने चुनाव पनि हो यो । राप्रपाले दिने उम्मेदवारको सूचिमा आइते लामा सानुभाइ, सकुल शाह, श्यामबहादुर खत्रीजस्ता नामहरुले आफूले कति अब्बल साबित गर्लान् र पार्टीलाई कति उचाईमा पुर्र्यालान् भन्ने चासो पनि सर्वत्र छ ।

 
यी सम्पूर्ण कुराहरुसँगै अझै पार्टीहरुसँग बुनपा विकासको खाका देखिएको छैन । जनताले चुनाव चिन्ह वा चिनेको नेताकै आधारमा भोट दिने पूरानै शैली अपनाउने अवस्थाबाट पार्टीहरु कति अगाडि बढ्लान् भन्ने विषय पनि टड्कारो छ । विकासका खाका विना नेताका टीकाले प्राप्त गरेर आउने उम्मेदवारलाई जनताले पनि साथ देलान् भन्ने छैन । साथै यो प्रकृयाले पार्टीको छवि पनि बिग्रने पक्का छ  ।

तपाइँको प्रतिक्रिया ।