रामसार सूचीमा सूचीकृत कास्कीका ताल संरक्षणमा चासो बढ्दै
कपन अनलाइन
पोखरा: पोखराको फेवासहित कास्कीका नौ वटा ताल एकैपटक अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएको एक वर्ष पुग्नै लाग्दा यी ताल संरक्षण र विकासले प्राथमिकता पाउन थालेको छ ।
रामसार सचिवालयबाट आएको विज्ञको टोलीले गत वर्ष माघमा विश्व सिमसार दिवसको अवसरमा यहाँका नौवटा ताललाई रामसारमा सूचीकृत गरिएको औपचारिक प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो योजनामा तालहरू रहेको स्थानको भौगोलिक अवस्था तथा संरक्षणका लागि आवश्यक पूर्वाधार विकासका विभिन्न पक्ष समेटिएको संरक्षण विकास फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
“रामसारमा सूचीकृत पोखराको फेवातालसहितका नौवटा ताल संरक्षण एवम् विकासका लागि पाँच वर्षे योजनासहित कुल रु १२ अर्ब २४ करोड, ७५ लाख १६ हजार लाग्ने अनुमान योजनामा छ”, उहाँले भन्नुभयो – “पहिलो कुरा ताल संरक्षण गर्नु नै हो, तालको जग्गा अतिक्रमणका साथै व्यवस्थापन र तालमा बढिरहेका मिचाहा प्रजातिको तत्काल नियन्त्रण गर्नु छ ।”
योजनाअनुसार ती तालमध्ये सबैभन्दा बढी लागत फेवातालमा लाग्ने देखिएको छ । अनुमानित कुल बजेटमध्ये फेवातालका लागि ३१ प्रतिशत छुट्याइएको छ भने त्यसपछि क्रमशः बेगनासमा २३, रुपामा १४, खाष्टे÷न्युरेनीमा ११, मैदीमा आठ, दिपाङ्गमा सात, गुँदेमा चार र कमलपोखरीमा दुई प्रतिशत बजेट निर्धारण गरिएको पोखरेलले जानकारी दिनुभयो ।
योजनामा तालको संरचना, जैविक विविधताको संरक्षण, तालका माध्यमबाट आर्थिक समृद्धि र विकास, नियमन, तालसँग आश्रित उत्पीडित तथा विपन्न वर्गको उत्थानलगायतका विषयलाई समेट्ने प्रयास गरिएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियकरण भएका कारण कास्कीका यी ताल संरक्षण र विकासलाई स्थानीय निकायले आफ्नो प्राथमिकतामा राखेको जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले बताउनुभयो ।
ताल संरक्षण र विकासका लागि आगामी जिल्ला परिषद्ले बजेट विनियोजन गर्ने जानकारी दिँदै उहाँले पोखराको फेवातालको संरक्षण एवम् विकासका लागि निर्वाचन क्षेत्र नं ३ अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत रु ५० लाख, नगरपालिकाबाट रु ५० लाख र स्थानीय जनसहभागिताबाट रु ५० लाख गरी रु एक करोड ५० लाख खर्चिने योजना रहेको बताउनुभयो ।
पछिल्लो समय जलवायु परिवर्तन र तीव्र विकासको गतिका कारण वातावरणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा जनसचेतनाका कारण ताल संरक्षण र विकासका लागि स्थानीयवासीमा पनि जागरुकता बढेको पाइन्छ । अन्तर्राष्ट्रियकरण भएका ती ताल संरक्षण र विकास राज्य वा स्थानीयवासी एक्लो प्रयासमा सम्भव नहुने बेगनास रुपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालले बताउनुभयो ।
रामसारमा सूचीकृत भएसँगै तालको विकासका योजना बन्ने, संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगका साथै स्थानीय जनसहभागिता बढ्ने, पर्यापर्यटन प्रवद्र्धन हुने तथा यहाँ रहेका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा जलचरको संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको ढकालले बताउनुभयो ।
रामसरामा सूचीकृत कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९२४ हेक्टर छ भने तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी यी तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६१० हेक्टर छ ।
रासस