कपन महोत्सवका बारेमा राजनीतिक दलहरु विभाजित, झनै विवाद बढ्यो

यहि असोज ११ देखि १३ सम्म गरिने भनिएको कपन महोत्सवलाई सफल पार्न भनेर आज कपनका राजनीतिक दलहरुको अगुवाइमा मोटरसाइकल र्यालीको आयोजना गरियो । ह्याण्डबल मैदानबाट शुरु भएको मोटरसाइकल र्यालीमा करिब १०० विभिन्न राजनीतिक दलका कार्यकर्ता र केही सिमित स्थानीय व्यक्ति सहभागि थिए । मोटरसाइकल र्याली बगलामुखी परिसरमा आएर टुंगिदा करिब २५ मोटरसाइकल मात्र बाँकी थिए ।

गणतन्त्र स्थापनापछिको पहिलो कपन महोत्सव भनेर नयाँ विशेषण झुण्ड्याएर प्रधानमन्त्रि बाबुराम भट्टराईले उद्घाटन गर्ने हल्लाका साथ कपन महोत्सव अगाडि बढ्ने क्रममा विवाद र आलोचना झनै चुलिएको छ । महोत्सवमा प्रस्तुत गरिने प्रस्ट कार्यक्रमको खाकाको अभाव र आयोजक तथा राजनीतिक पार्टीहरुको आपसी समन्वयको अभाव खड्किए पछि कपनका राजनीतिक दलहरु पनि बिभाजित देखिन थालेका छन् । लामो समयदेखि कपनको विकास निर्माणमा एक ढिक्का भएर अगाडि बढेका राजनीतिक दललाई कपन महोत्सवका आयोजकका कारण फुटको वातावरण सिर्जिएको हो । कपन महोत्सवलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषय तथा कपन गाविस सह आयोजक बन्ने नबन्ने विषयमा आज कपन गाविसको आयोजनमा बसेको भेला सहमति बिना विवादित भएर टुगिंएको छ ।

स्थानीय समाजसेवी शशिप्रसाद शर्माको निवासमा भएको भेलालाई कपन गाविसका सचिवले समन्वयको भूमिका निर्वाह गरे पनि राजनीतिक दलहरु निर्णयमा पुग्न सकेनन् । महोत्सवमा के कार्यक्रम प्रस्तुत गर्ने भन्ने विषय भन्दा पनि राजनीतिक दलका व्यक्तिहरु आफ्नो भूमिका तथा पोर्टफोलियोमा अल्झेको देखिन्थ्यो । एमाओवादी तथा एमालेले यही अवस्थामा जेजस्तो भए पनि सहयोगी भएर अगाडि बढ्ने विचार व्यक्त गरे भने नेपाली कांग्रेस र नेकपा माओवादी भने अत्यन्त कमजोर व्यवस्थापनका बीच पिछलग्गु भएर अगाडि नबढ्ने विचारमा देखिन्थे । पूर्व गाविस अध्यक्ष मीठाराम अधिकारी स्वयम् भने समन्वय गरेर गल्तिहरुलाई सच्याएर छोटो अबधिमा गर्न सकिने अधिकतम कार्यहरु गर्नका लागि सबैलाई आग्रह गर्दै थिए । प्रधानमन्त्रिलाई कालो झण्डा नदेखाउने वातावरणका लागि उनको सबैसँग आग्रह थियो । तर नेकपा माओवादीका अशोक पाण्डेले प्रधानमन्त्रिलाई कालो झण्डा देखाउने काम जुनसुकै हालतमा गरिने कुरा गरे पछि एकिकृत माओवादीका सुवास राई आक्रोशित भएको थिए । यसैबीच युवा संघका क्षेत्रीय सचिव पुण्यराज पुडासैनीले पार्टीले कालो झण्डा नदेखाए पनि युवा संघले सशक्तरुपले कालो झण्डा देखाउने कपन अनलाइनलाई बताएका छन् ।

कपन महोत्सव को दोस्रो मोटर साइकल र्याली

आजको भेलामा एमालेका ध्रुवराज न्यौपाने तथा एमाओवादीका सुवास राईले यो कार्यक्रमलाई पूर्ण सहयोग गर्ने बताउँदै ने.का.का विनोद चालिसेका कारण सहमतिको वातावरण बन्न नसकेको राय प्रकट गरेका थिए भने ने.का. का विनोद चालिसेको अभिव्यक्ति हो वा होइन नबुझिने खालको थियो ।

कपनको नाम तथा प्रतिष्ठा दाउमा लागेको हुँदा यसलाई सफल पार्नु पर्ने धारणा एमाओवादी र एमालेले प्रस्तुत गरिरहँदा ने.का. र नेकपा माओवादी भने गलत किसिमको कार्यशैलीलाई सहयोग गर्न तयार नभएको धारणा व्यक्त गर्दै थिए ।

आयोजक कपन पर्यटन बोर्ड र यससँग सम्बन्धित व्यक्तिहरु भने आक्रोशित हुँदै कपनवासी कसैले सहयोग नगरे पनि कार्यक्रम गरेर देखाउने भावना व्यक्त गर्दै थिए । यस संस्थाका अध्यक्ष आङकामी शेर्पा तथा मूल संयोजक भनिएका भरत किशोर श्रेष्ठको प्रस्तुति तथा अभिव्यक्तिप्रति अधिकांश उपस्थितहरुले बेखुशी व्यक्त गरेका थिए ।

समग्रमा फेरि एकपटक आयोजकको व्यवस्थापकीय तथा कपन सम्बन्धि ज्ञानको अभावका कारण कपन महोत्सव प्रभावहिन हुने कुरामा सबै चिन्तित देखिन्थे ।

तपाइँको प्रतिक्रिया ।