'प्लाष्टिक मुक्त कपन' अभियान प्रारम्भ

‘हाम्रो कपन राम्रो कपन’तथा ‘गो ग्रिन’ को नारासहित कपनलाई प्लाष्टिक मुक्त गाविस बनाउने अभियान शुरु भएको छ । स्थानीय सिडिसिए एवम् समाजको आवाज नामका संस्थाको अगुवाइमा यो अभियान शुरु गरिएको हो । यस अभियानमा कपन गाविस कार्यालय पनि समावेश छ ।

कपनमा रहेका करिब १५० संघसंस्थालाई एकआपसमा सहभागि तथा समन्वय गरी अगाडि बढ्ने कार्य पनि संचालन भैरहेको छ । मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने कम माइक्रोनका प्लाष्टिकहरु नेपालमा बेरेकटोक प्रयोग भैरहेको सन्दर्भमा नेपाल सरकारले ०६८ सालमा जारी गरेको निर्देशिकालाई आधार बनाएर सिडिसिए र समाजको आवाज संस्थाले कपनमा द्रुत गतिमा यो अभियान सञ्चालन गर्न थालेको हो ।

यसै क्रममा ०६९ आश्विन ६ गते शनिवार कपन तथा आसपासमा रहेका सुपरमार्केट, ग्रोसरी, खुद्रा तथा थोक विक्रेताहरुको माझ चेतानमुलक कार्यक्रम आयोजना गरियो । कपन १ स्थित साम्भला भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा आयोजकले प्लाटिष्क बाट जन सामान्यमा पर्ने स्वास्थ्यगत असर तथा सामाजिक एवम् वातावरणीय हिसाबले सिंगो समाज र देशलाई पर्ने असरका बारेमा विस्तृत जानकारी प्रदान गरे । आयोजकले प्लाष्टिक विस्थापनका कुरामात्र नगरेर प्लाष्टिकको विकल्पसमेत प्रस्तुत गरेको थियो । कम मूल्यमा लामो समयसम्म टिक्ने कपडाका झोलाहरु प्रदर्शनी गरिएको थियो । भेलामा सहभागि सम्पूर्णले यो कार्यक्रमबाट आफ्नो व्यवसायलाई वातावरणमैत्री बनाउन उर्जा मिलेको प्रतिक्रिया व्यक्त गरेका थिए ।

प्लाष्टिक मुक्त कपन कार्यक्रमअन्र्तगत चाँडैमा कपन तथा आसपासमा रहेका औषधि पसलवालाहरुलाई सहभागि गरेर यस्तै जानकारीमूलक कार्यक्रम प्रदान गरिने आयोजकमध्ये एक सिडिसिए का अध्यक्ष डेण्डी शेर्पाले कपन अनलाइनलाई बताए । उनले पहिलोचरणमा सामान खरिद गर्दा प्लाष्टिक दिने पसलवालााई फोकस गरिए पनि यसपछि सबै जनसामान्यमा गएर कसरी प्लाष्टिकको विकल्प खोजी गर्न सकिन्छ भन्ने बारे अन्र्तक्रिया गरिने जानकारी दिए ।

कार्यक्रमका अर्का आयोजक समाजका आवाजका अध्यक्ष राजु बस्नेतले यस्ताखाले चेतनामूलक कार्यक्रम विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी हरेक हप्ता कपन गाविसको विभिन्न वडाहरुमा गर्ने तयारी भैरहेको जानकारी कपन अनलाइनलाई दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।