चार मुक्तक : अरुण कुमार भुजेल
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १६ ।
गलत होइन सधैँ सठिक बाटो समाउनु पर्छ
सत्कर्मको उपलब्धिमा मनबाटै रमाउनु पर्छ
कुकृत्यमा फसेर सुन्दर जीवन बिगार्नुभन्दा,
वन्दनीय कार्यहरू गरी सुनाम कमाउनु पर्छ ।
उड्दै गरेको कुहिरो खै कता जाने हो थाहा छैन
हावाको सानो झोकाले कहाँ लाने हो थाहा छैन
मानव जीवन कुहिरो जस्तै र मृत्यु छ हावासरि,
उड्दा उड्दै कहिले क्वाप्प खाने हो थाहा छैन ।
जीवन फूल हो तिमी आफैँ फुलाउन सक्नु पर्छ
धानको बालाहरू झुलेसरि झुलाउन सक्नु पर्छ
शिशिर र पतझडले उजाडेको जीवनलाई फेरि,
हिम्मतले हराभरा पार्दै वसन्त डुलाउन सक्नु पर्छ ।
समयको महत्व बुझे भविष्यमा राम्रो काम बन्छ
एकलव्य जस्तो विद्यार्थीको संसारभरि नाम बन्छ
अनुशासित अनि आज्ञाकारी हुनुपर्छ विद्यार्थीहरू,
वशिष्ठ जस्तै गुरु पाएमा विद्यार्थी पक्कै राम बन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
