चाहना : टीकाराम जोशी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
सुकदेवको आँखामा अनौठो चमक थियो । आखिरमा उसले चाहेको कुरा पाएको थियो ।
ऊ कुनै चानचुने सुगा थिएन । ऊ सुनाइ, बोलाइ, पढाइ र लेखाइमा अरू सुगाभन्दा अव्वल थियो । त्यसैले सुगाजातिलाई उच्च शिक्षा दिने केहिथान सुगाहरूमा ऊ स्वनामधन्य थियो । उसले आफ्नो ज्ञान सीपलाई वनका सुगाहरूसम्म पु¥याउने योजना बनाएको थियो । उसले आफुले तयार गरेको योजना अनुसार आफ्ना कुराहरू सुनाउन थालेको थियो । उसले शिक्षाका विभिन्न आयामहरूका बारेमा कुरा गथ्र्यो तर यसबाट उसले अपेक्षा गरे अनुसार उसका पाठकहरू बढ्नसकेका थिएनन् ।
उसले सोच्यो “मेरा बौद्धिक कुरामा चासो लिन यी वनका सुगाहरूलाई के को खाँचो ।”
ऊ चिच्यायो “मेरा कुरा कसैलाई मन परून् वा नपरून्, मलाई मतलब छैन । वनराजले वनका सुगाहरूको लागि केहि पनि गरेन । उसले गास, बास र सुरक्षाको जिम्मेवारी लिनुपर्छ अनिमात्र शिक्षा उभो लाग्छ ।”
तत्कालै वनका चारैकुनाबाट तालि बजेको थियो । उसका प्रशंसक एक्कासी हजारौँको संख्यामा बढेका थिए । सुकदेवको नयाँ प्रयोग सफल भएको थियो ।
उसले मनमनै गुन्यो, “आलोचना र रमिते समानुपातिक हुन्छन् ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
