बुढानिलकण्ठ कै बाटोमा गोकर्णेश्वर, विद्यालयहरु संचालन गर्न निर्देशन
कपन अनलाइन
काठमाडौं , बैशाख ८ ।
गोकर्णेश्वर नगरपालिकाले शैक्षिक सत्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आवश्यक तयारी गर्न नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार नगर शिक्षा समितिको निर्णयबमोजिम नयाँ शैक्षिक सत्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक कदम चाल्न विद्यालयहरूलाई आग्रह गरिएको हो।
सूचनामा विद्यालयहरूलाई विद्यार्थी भर्ना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न, कक्षा व्यवस्थापनका लागि पूर्वतयारी पूरा गर्न तथा शैक्षिक गतिविधिहरूलाई समयमै कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
त्यस्तै गोकर्णेश्वर नगरपालिकाद्वारा स्वीकृत वार्षिक शैक्षिक योजना अनुसार विद्यालयहरूले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
नगर शिक्षा अधिकारी वीर बहादुर बड्का ले गुणस्तरीय शिक्षा प्रवाहलाई सुनिश्चित गर्न समयमै तयारी आवश्यक रहेको बताउँदै सबै विद्यालयलाई जिम्मेवारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन्।
