मन जीवन हो : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
मन जीवन हो मन सिर्जन हो
सुख हो मन यो मन नै धन हो
मन छैन भने दिन हुन्न सफा
मन बिग्रिए छ कहाँ र अहा ?
मन फाँट बनी फल दिन्छ सधैँ
मन आँट बनी बल दिन्छ सधैँ
मन मेघ बनी जल दिन्छ सधैँ
मन घाम सुखी पल दिन्छ सधैँ ।
मन खेल बने शुभ भाव घना
मन जेल बने हीनभाव घना
मन सम्म कहीँ मन उच्च कहीँ
मन बिग्रिदिए छ र सुख्ख कहीँ ?
मन बादल भैकन उड्छ कतै
मन निर्बल भैकन टुट्छ कतै
अनि जुट्छ कतै अनि भुल्छ कतै
मन फूल बनीकन फुल्छ कतै ।
म बिहान उठी पर खेत गएँ
परबाट हिँडी घर गोठ गएँ
मनभित्र भने सब विश्व डुल्यो
सकिँदैन खनी मनभित्र कुलो ।
नव जागृतिको जब शङ्ख फुकेँ
नव सिर्जनको भवसम्म पुगेँ
मन दीपक भैकन बल्छ भने
रहँदैन कतै पनि क्लेश बुझेँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
