शुभकामना : मणिराज सिंह ( कविता )

शुभकामना : मणिराज सिंह ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत २८।

बाध्यताको फलामे साङ्लोले
चेतनाको कम्मर कसेर बाँध्दा पनि
हामी कहिलेसम्म मौनताको बन्दी बनिरहने ?
चिन्ताको काँडेतारले छाती चिरिँदा
आफ्नै लाचारीको बकपत्र लेख्दै
आफैँमाथि खिल्ली उडाइरहने हामी कहिलेसम्म ?

समयको काँधमा विवशताको भीष्म–भार बोकेर
अभावको वर्षाती रागमा
कहिले सम्म भिजिरहने ?
निर्दोष बालहठले हिउँका डल्ला ओसार्दा ओसार्दै
भ्रष्टाचारको यो नर्क–कुण्डमा
कहिले सम्म भासिँदै जाने हामी ?

हाम्रो अलमलको खरानीमा हाँसो छर्दै
खटपटको गन्ध सुँघेर हुँडार र ब्वाँसोहरू
¥याल काढेर मुख मिठ्याउँदै छन्
उपदेशका कर्कश ढ्याङ्ग्रो ठोक्दै
हाम्रै विवेकमाथि निषेधाज्ञा जारी गरिरहेका छन्
अब ब्युँझिने बेला भयो
खुकुरीको धारमा उभिएर इतिहासको पाना पल्टाऔँ
र, यो पीडाको चक्रव्यूह चिर्दै
क्रान्तिको राँकोलाई मुटुको रापले बाालिरहौँ ।

भ्रष्टहरूको जालो च्यातेर
नयाँ बिहानीको अक्षय बीउ रोपौँ
विवेकका राजमार्गहरू फेरि खडा गरौँ
आउनुस्, एकछिन व्यर्थका लिडेढिप्पी त्यागौँ
आँखामा आँखा जुधाएर आगोसँग संवाद गरौँ
उत्साहका भञ्ज्याङहरूमा सयपत्रीको सुगन्ध भरौँ
स्मृतिको दोभानमा उभिएर
जूनको शीतल रागमा कान–कानमा गुन्जियोस्
विश्वासका उज्याला मुस्कानमय अनुरागहरू
सामाजिक सञ्जालका पर्खाल नाघेर
मनका पखेटाहरू भुरर्र उडून्
जसरी उडेका थिए बाल्यकालमा
चुत्रो र ऐँसेलुको स्वादमा अल्झिएका ओठहरू
काफल र मयलको दानासँगै हाँसेका ती भिर पाखाहरू ।

आज किन
बिदाइमा आँसु टलपलाएकी चेलीको आँखाझैँ धमिलो देख्छु समय
भिजेको कागजझैँ ओसिएको छ यो शरीर
साँझको थकानमा काखको छोरालाई दूध चुसाउँदै गर्दा
जब आतङ्कको कर्कश आवाजले ढोका ढकढक्याउँछ
म अभिनय गर्छु– नसुनेको, नबुझेको झैँ
र, भित्रभित्रै आक्रोशको ज्वालामुखी फुट्छ
ढोकामा लात्ती बजार्दा जब तन्द्रा खुल्छ
त्यही भत्किएको ढोकाको चेपबाट
अँध्यारोलाई चिर्दै छिर्छ एउटा उज्यालो झुल्को
हो, त्यही सुनौलो आयामभरि
मनले सधैँ कोरिरहन्छ
शुभकामना!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।