बन्न नसकेको ज्वाईँ : जीवनाथ पोखरेल

बन्न नसकेको ज्वाईँ : जीवनाथ पोखरेल

कपन अनलाइन
काठमाण्डौ ,चैत २२।

सबै दिन मनमा सोचे जस्तो मान्छेमा हुन्छ भन्ने छैन चाहना एक हुन्छ तर परिणामले अर्केै देखाउँन पनि सक्दछ । परिस्थितीलाई या त त्यो स्वीकार योग्य होला वा नहोला सबैले सहजताका साथ यसलाई लिन्छन् भन्ने पनि छैन । या त उ स्वीकार गरेर बस्दछ तर प्रतिकृया जनाउँदैन भने यसो हुनुमा उसलाई मन नपरेको पनि होला । कोही बहाना बनाउँछन् अनि टाप कस्दछन् । आम मान्छेको चाहना मेरो कुरामा सही थापिदियोस् अनि प्रशंसाका शब्दहरु पनि ओकली देवस् भन्ने नै हुन्छ जस्तो मलाई लाग्दछ । यही मेशोमा मेरो आजको उत्तरार्ध चाख लाग्दो नै रह्यो भन्नु पर्ने हुन्छ । बिगत जस्तै आजपनि त्यो चिया सङ्गम केन्द्रमा समसामयीक,आर्थिक,मनोरन्जनात्मक लगायतका पक्षहरुमा कुराकानी भएका हुन् । मलाई भने नयाँ बिषयबस्तु होस् भन्ने हुन्छ भने सबैमा यस्तै हुन्छ भन्ने पनि छैन तथापी चिया गफ हो भन्ने र हल्कासँग लिने चलन पनि रहेको छ ।
पवन मेरा नयाँ मित्र हुन् । हाम्रो बसोबास एकै वडामा भएता पनि उनी र म बस्ने टोल बस्ती भने फरक नै रहेछ । हाम्रो समय सारिणी बिहान नौ बजेको आसपास हो भने बेलुका पाँच बजेपछि नै होला । पवनकाजी नेपाली सेनाका पूर्ब जागिरे रहेछन् । यो जानकारी मैले पछि पाएको हो । काजी खालको शौख अरु भन्दा अलिफरक नै हुन्छ । खानपीनमा होस् वा लवाईखवाइ नै किन नहोस् । उनीहरु आफ्नो सरहद वा क्षेत्रमा बर्चस्व रहेको देखाउँन चाहन्छन् । त्यसैले पनि होला उनीहरुले आफ्नो कुटुम्बेरी पनि आफु जस्तै होस् भन्ने चाहना राख्ने नै भए । यही मेशोमा पवनको सोच र अबस्था पनि खान्दानी हुने नै भयो । उनी लक्का जवान छन् खान्दानी छन् उनीहरुको पर्याप्त नै खेतबारी पनि छ । अरुलाई ठेक्का वा कूतमा कमाउन उनीहरुले दिएका छन् । उनका आफ्ना बाबुको पेन्सन आउँछ अनि दाईहरु पनि बिभिन्न निकायमा जागिरे छन् । सबैले आफ्नो पेशा वा ब्यबसाय गरेका हुँदा उनीहरुको पारिबार राम्ररी नै चलेको मान्नु पर्दछ । सबै दाजुभाईहरु मिलेर खेतबारी र घरको कामधन्दामा सकेको सहयोग गर्दछन् । घर परिबारमा राम्रै मेल रहेको छ । उनका दाजुहरुको बिबाह भै सकेको छ केबल उनको मात्र बिबाह हुन बाँकी हो । यसैले पनि उनकी आमाले पनि धेरै ठाउँमा केटीको कुरा चलाएकी पनि हुन् तर पवनको मन भने अन्यत्र नै अडेको अबस्था हो । देखेर मात्र पनि त भएन नि ? लेखेको पनि हुनुपर्दछ भन्ने उखान पनि चलन चल्तीमा छ ।
पवनसँग गाडी चलाउने सीप छ । यही सीपको उपयोग गरेर उनीले खाडी मुलुकका लेबनान,जोर्डान,युएइ लगायतका देशहरु पनि चाहारी सकेका छन् । उनले त्यहाँ के सम्म गरेनन् । सबै शौख पनि पूरा गरे बाहेक घुम्टो उघार्न र आँखा झिम्क्याउन । यो प्रतिबन्धात्मक अबस्था खाडी मुलुकमा उनले राम्ररी बुझेका थिए र नै यसबाट उनी सतर्करहे । डेडसिको पानीमा उनले डुबुल्की मारेका छन्,नाङ्गला जत्रा रोटी खाएका छन तर सितन के हो ? उनलाई के थाहा आफुले बनाउने पनि त होइन नि ? खाडीमा उनी शैनिकको ट्रक चलाउँथे,हतियार त सँगै हुन्थ्यो तर पनि त्यहाँका आतङ्गकारीले कन्चटमा बन्दुक तेस्र्याउँथे । हामीसँगको कुराकानीमा उनी त्यहाँको दुःख र सुखको क्षणको पनि अनुभव बाँडी रहेका हुन्थे । कहिले टुप्लुक्क राजन आउँथे र खार्किबको कुरा गर्थे त कहिले होइन होला फिस्स हाँस्दै बोकेदाह्री मुसार्दै भित्र छिर्ने गर्दथे । अर्जुन त नियमित नै हुन् उनको प्रायः त्यहाँ उपस्थिती भने रहिनै रहन्छ । जष्ट फर यु बाट चिया लिने हो कडा रङ्गको हो कि चिनी बिनाको हो कालो चिया हो वा दुध अनि पानीको चिया नै किन नहोस् । तुरुन्त नै सेवा नपाउने कुरा नै भएन । सुख्खा रोटी चल्छ तरकारीमा चोब्नुहोस् अनि बिहानको ब्रेकफाष्ट खानु होस् । पकाएको ठाउँमा खार आउनु सामान्य हो यसले नाक पनि त सफागर्दछ अनि रुघा लाग्नबाट पनि बचाउँछ ।
हिजो आज हामी त्यहाँ चियासँग धुलो मसला पनि खाने गर्दछौँ । त्यसैले त हामी मध्ये कसैले हाछिउँ ग–यो भने त्यसमा अचम्म मान्नुपर्ने हुँदैन । किनकी यो हाम्रो सूचना केन्द्र हो । स्वास्थ्य सचेतना लगायतका सूचना त्यहाँ पाउन सकिन्छ । केशबले जडीबुटीकोे प्रभाकारी सूचना त्यहाँ दिएकै हुन्छन् भने बिमारीको किन चिन्ता लिनुप–यो र ? तथापी उपयोग भने मानिसले आफ्नो विश्वसका आधारमा जहाँ टिक्छ त्यही गर्ने हो । यसमा सबैको एकमत हुन्छ नै भन्ने पनि छैन । छत आ आफ्नो तर्क र पुष्ट्याईँ त्यहाँ त्यस्ता मित्रहरु पनि त छन् नि ? यो लोकतन्त्रको जमानामा बोल्न त पाइन्छ सेवा पाइयोस् वा नपाइयोस् यसमा कमै चासो देखिन्छ । किनकी मैले मन पराएको मान्छे अहिले नेतृत्वमा रहेको छ भनेर उसलाई आड र भरोशा रहेको छ ।
यो हाम्रो ट्यामपास केन्द्रमा हाम्रा आकाश र पालातका डिङ्गहाँक्ने गफ चलिरहेका थिए नै । पवन र म एक अर्काप्रति आम्ने साम्नेमा नै गफ चुटेर बसेका थियौँ । म सडक पट्टि फर्किएको तर पवन भने सडकको पछाडी पर्ने नै भयो । मान्छेहरुको ओहर दोहर सबारी साधनहरुको कोलाहल नहुने कुरै भएन । त्यसमा पनि झ्याप्ले ग्रुपले साइलेन्सर हटाएर मोटर साइकल कुदाउँदा भने हाहाकार नै मच्चिन्छ । यो पनि एक प्रकारले लोकतन्त्रको जे पनि गर्न छुट्छ भन्ने ब्यङ्गात्मक उपहास नै भयो भन्ने मलाई लाग्दछ । अङ्ग प्रदर्शनका लागि त आफ्नो स्वतन्त्रता हो यसमा अरुको करकापले के काम गर्दछ र ? हो हामीहरु पनि यस्तै यस्तै आधासाठीका गफ चुटेर बसेको अबस्था थियो त्यस बखत ।
यसै बीच एक जना अधबैँसे महिलाले पवनलाई बोलाइन् । उनले पछाडी बाट पनि ठम्याउन सकेकोमा मलाई भने उनीहरु चीर परिचित नै रहेछन् भन्ने अडकल सम्म काटेको हो । मेरो अनुमान पनि ठिकै रहेछ उनको घर पनि यही टोलमा रहेको कुरा पछि कुराकानीको प्रशङ्गमा मैले जानकारी पाएको हो । ती महिला निकै बोलाइली,फस्र्याइली र हँसी मजाक गर्नुपर्ने अनि निडर स्वभावकी जस्तो मलाई लाग्यो । यो स्वभाब आफ्नो बाल्यकालको निरन्तरता पनि हुन सक्दछ नहुन पनि सक्दछ । पछि यही आर्जित स्वभाव परिस्थितीले पनि सिर्जना गर्न सक्दछ । जे होस् उनी पवनलाई ज्वाईँको नाताले सम्बोधन गरेर छेउमा नै बस्न पुगिन् । उनको एक हातमा हेण्डब्याग छ अर्को हातमा तरकारीको झोला । कुर्था सुरुवालमा सजिएकी उनी जनाना स्वरुपमा निकै आकर्षक नै लाग्दथिन् ।
पवनले पनि उनलाई पुलुक्क हेरे अनि उनलाई जेठीसासु भनेर नै सम्बोधन गरे । यो सम्बोधन पश्चात् दुबैजना खुलेर हाँसेका हुन् । यसबाट मैले यो बास्तबिक नाता होइन कि ? भन्ने लखमात्र काटेँ । हुन पनि हो रहेछ मेरो अनुमान सही ठाउँमा परेको रहेछ । यस पछि ती महिलाले बिबाह गर्नुहोस् भन्दा गर्नु भएन यदी गरेको भए तपाईँ मेरो ज्वाईँ बन्नु हुने थियो नि भनेर पवनलाई तीनले हाँस्दै भनेकी थिइन् । के गर्नु मेरो त सोच नभएको भन्न मिल्दैन तर कर्ममा नै थिएन नै भन्नु पर्ने हुन्छ भनेर पवनले जवाफ फर्काए । यस पछि पवनले पहिलेको गुह्य खोल्न थाले । यो उनीहरुको बिगत पनि निकै रमाइलो नै रहेछ । ललितपुरको एक कुनामा घरबार भएको पवन काठमाण्डौको पूर्बि उत्तर कुना सम्म साथी लिएर आकाँक्षालाई भेट्न जाँदा रहेछन् । पुलको मुखमा बस्यो गफ लडायो,आकाँक्षा आउने प्रतिक्षामा समय बितायो । यो बेला अरुलाई पर्खिएर बसेको जस्तो अबस्था पनि होइन ।रोमान्चकताले भरिएको अबस्थामा नभोक हुन्छ न प्यास नै हुन्छ,हुन्छ त केबल आकाँक्षाको दर्शन गर्ने,उनको मुस्कानको मादकतामा लट्ठपर्ने अनि कल्पनामा डुब्ने,भोलीको जीवनको सुनहरा संसारमा रम्ने । पनवले त्यहाँ भन्दै गए–कतिपय दिनहरु त त्यसै बिते प्रतिक्षागर्दा गर्दा आँखा टट्टाए होलान्,भोक प्यास दबाएर पनि बसियो होला तर पनि पछुतो भने भएन ।
एक दिनको कुरा हो म र मेरो मित्र हरीश सँगै आकाँक्षालाई भेट्ने क्रममा पुलको मुखमा कुरी नै रहेका थियौं । मौषम अनुकुल थियो न गर्मि न जाडो । घमाइलो दिन सफा मौषम मेरा आँखा बाटो हेर्दै टट्याई रहेका थिए । त्यस दिन अचानक प्रभातीको लालिमा आएको जस्तो मलाई प्रतीत भयो । आकाँक्षा र प्रिती सँगै परबाट आएको हामीले देख्यौँ । उनीहरुलाई देख्नासाथ मैले हरीशलाई भनि पनि हालेँ । हामीहरुका बीचमा खुसीको सीमा पनि रहेन । मेरो मुटुपनि ढुकढुक हुन थाल्यो । अलि अलि खुसी अनि अलि अलि डर पनि । यस्तै सोच्दा सोच्दै उनीहरु हामी नजिकै आइपुगे । त्यसको संयोजन तार्तम्य यीनै जेठीसासु भारतीले गरेकी थिइन् जो आकाँक्षाकी काकाकी छोरी हुन् । यो कुरा पवनले ब्यक्तगर्दा भारतीले पनि केही गर्बको महशूस गरेको कुरा उनको मुहारले प्रश्ट बताउँथ्यो ।
त्यस दिनको छोटो भेटले पनि मलाई आकाँक्षाले मन छोइसकेकी थिइन् । न होस् पनि किन साँवलो रङ्गकी उनी ठिक्कको जीउडाल सर्लक्क मिलेका हात, गोडा, सारी ल्वाउजमा सजिएकी आकाँक्षा देख्नासाथ मेरा सुकेका ओठमा मुख रसाएर आएको मलाई अनुभव भयो । यीनै हुन चाहेकी जेठीसासुले मध्यस्थ भएर उनीसँग कुराकानी गराइन् । भविश्यका जोडीको रहस्य पनि उनले त्यहाँ खोली दिइन् । यसै बीच आकाँक्षाले एउटा जादुभरी मुस्कान फ्याँकेकी हुन् । उनको यो मुस्कानले म त्यसबेला निकै घायल नै बनेको अबस्था थियो । यी कुराहरु ब्यक्त गर्दै गर्दा पवन निकै उत्साही देखिन्थे । नजिकमा बसेकी भारती भने अर्ध मुस्कान छोड्दै थिइन् । हामी भने बढो उत्सुकताका साथ यो बिगतको कहानी सुनिरहेका थियौँ ।
यसै बीच चिया पिउने कुराको सोधनी भयो । मैले नै यो उत्साहको अबस्थामा सबैलाई चिया मेरो तर्फबाट दिन भनेको थिएँ । मेरो चाख भने यस पछिको परिणामको बिषयमा जान्ने उत्सुकता थियो । मैले पवनलाई कुरा अगाडी बढाउन आग्रह गरेको हो । मेरो आग्रहलाई उनले स्वीकार गर्दै अगाडी भने कि ? आकाँक्षाले मलाई मन नपराएको भने होइन र म पनि त्यही केटी पाउन हिरिक्क नै थिएँ । यो कुरा कन्याको घरमा पुग्यो । केटाको घरद्वार हेर्न भनेर केटी तर्फका १२÷१५ जना पवनका घरमा आए । सकेसम्म पाहुनाको सत्कारमा कमि हुन नदिन प्रयत्न गरिएको हो । तृप्तहुने सम्मको दहिच्यूरा,फलफुल,मिठाईले पनि सेवा गरिएकै हो । राम्रै भलाकुसारी गरेर उनीहरु पछि निधोदिने भनेर गएका थिए । पवनले त्यहाँ हामीसँग अगाडी भने कि ? म धेरै आशा र भरोशा गरेर बसेको थिएँ तर अचानक मेरो आशा निराशामा बद्लियो अनि मेरो चाहनामा कुठाराघात भयो । त्यहाँ केटीका अभिभावकहरुमा दम्भ आएको जस्तो मलाई लाग्यो । उनीहरुले सेनाका मान्छेलाई छोरी नदिने भनेछन् । त्यसमा उनीहरुको खान्दानीको बोक्रेधाक खान्दानी र हैशियत समेत नमिल्ने देखाएर यो प्रस्ताबलाई टुक्य्राएको अबस्था आयो । यसमा अरुको अनुरोधले काम गरेन । त्यसबेलाको जमानामा केटीले आफ्नो चाहना ब्यक्तगर्न सक्ने अबस्था पनि थिएन । अनी हामी आ–आफ्नो पेशा र ब्यबहार तिर लाग्यौँ हाम्रा बिबाह फरक फरक ठाउँमा भए । उनको बिबाह सम्पन्न घरपरिवारमा भएकोे भन्ने मैले जानकारी पाएको हो । यतिभएर पनि अहिले आकाँक्षाको म प्रतिको मायाँ र श्रद्धा कायम छ भन्ने कुरा एक दिन बसमा मेरो उनीसँग भेटहुँदा उनले सौहार्दता देखाए बाट पनि पुष्टिहुन जान्छ । म भने त्यसबेला निकै भाबुक भएँ र उनको पनि पछुतोको आभाष उनको मुहारले देखाउँथ्यो । त्यहाँ मैले उनलाई धन्यबादका दुइशब्द ब्यक्तगर्ने बाहेक अरुकेही उपाय पनि त थिएन नि ? अहिले सम्म पनि उनी प्रतिको सम्मान र स्नेह भने आजपर्यन्त नै मेरो मनमा गडिनै रहेको छ ।
नहुन्छ देखी,पाइन्न लेखी सपना जस्तै हो
सद्भाव छाउने,चाहना पाउने,भाग्य नै यस्तै हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।