लडाइँ : त्रिलोचन आचार्य (कविता)

लडाइँ :  त्रिलोचन आचार्य (कविता)

कपन अनलाइन

काठमाण्डौ ,चैत २८।

गासौँ टुटेको दिल गासिँदैन
हासौँ दुखेको मन हासिँदैन
खोलौ लुकेको मुटु खोलिँदैन
लाग्यो, उज्यालो कहिल्यै हुँदैन ।

ढाक्यो धरामा जब अन्धकार
निर्दोषमा झन् झन भो प्रहार
मान्छे स्वयं मानिस मार्न लाग्यो
यो सृष्टिको शौर्य विगार्न लाग्यो ।

ढाक्यो धरा यो बम बारुदैले
विश्वासको फाँट डुब्यो क्रमैले
नानी रुँदैछन् यति मात्र सुन्छु
चित्कारले पग्लिनमात्र पुग्छु ।

ज्वाला बल्यो दन्दन राप कस्तो
ढुङ्गा गयो पग्लन ताप कस्तो
पग्ले सबैका तन खाग बन्दै
स्मशान जाग्यो अनि लाश चुन्दै ।

मारेर मान्छे किन हाँस्छ मान्छे
मुर्दा घिसार्दै किन नाच्छ मान्छे
सारा गुमाएर विवेक आज
बन्दैछ ढुङ्गासरिको समाज ?

को माग्छ आमासँग माफ ऐले
फर्कन्छ होला भन बुध्दि कैले
धर्ती पुरै ध्वस्त गराउँछन् कि
आफू स्वयं शीघ्र जलाउँछन् कि ?

च्यापेर आफ्नै तनको खरानी
रोज्ला कि मान्छे सजिलो सिरानी ?
आकाशको बादल हार्न थाल्यो
दुर्बुध्दिले बुध्दि पछार्न थाल्यो

सद्भाव राख्ने दिलदार पात्र
पाइन्न जन्मे धृतराष्ट्र मात्र
बाँचौ म मारी सब यो धराका
भन्दैछ हेरौँ उसकै धमाका ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।