असल विद्यार्थी बनाउन मेरो सङ्घर्ष : वन्दना पौडेल

असल विद्यार्थी बनाउन मेरो सङ्घर्ष :  वन्दना पौडेल

कपन अनलाइन
काठमाण्डौ ,चैत २२।
जीवनको एउटा मोडमा उभिएकी छु म जहाँ फर्केर हेर्दा लाग्छ, बितेका वर्षहरू केवल समय थिएनन् ती त मेरा सपना, पीडा, आशा र संघर्षका जीवन्त अध्यायहरू थिए । म एउटा साधारण शिक्षक हुँ, तर मेरो हृदयमा बग्ने भावना असाधारण थियो । मैले जब पहिलो पटक विद्यालयको ढोका टेकें, मेरो मनमा एउटै अठोट थियो । यी नानी बाबुहरूलाई केवल अक्षर चिनाउने होइन, जीवन चिनाउने, किताबका पानामा सीमित नराखी, उनीहरूको भविष्य कोर्ने ।
त्यस दिनदेखि आजसम्म, मैले मेरो सम्पूर्ण जीवन नै विद्यार्थीकै नाममा अर्पण गरें । प्रत्येक बिहान म सबेरै उठ्थें । आफ्ना आवश्यकताभन्दा पहिला विद्यार्थीहरू मेरो मनमा आउँथे । आज कक्षा कसरी रमाइलो बनाउने ? कसरी उनीहरूलाई बुझ्ने गरी पढाउने ? कसरी उनीहरूको मन जित्ने ? यिनै प्रश्नहरू मेरो दिनचर्या बनिसकेका थिए ।
कक्षा भित्र म घण्टौँ मेहनत गर्थें । कहिले गीत गाएर, कहिले कथा सुनाएर, कहिले खेल खेलाएर । सिकाइलाई बोझ होइन, उत्सव बनाउन चाहन्थें म । तर सबै कुरा सजिलो थिएन । कतिपय विद्यार्थीहरू पढाइप्रति बेवास्ता गर्थे । उनीहरूको लापर्वाही देख्दा मेरो मन चसक्क दुख्थ्यो ।
“मिस, आज पनि होमवर्क गरिनँ,”
“मलाई त पढ्न मन लाग्दैन,”
“पछि पढ्छु…”
यी वाक्यहरू बारम्बार सुन्दा, मेरो मनभित्र पीडाको आँधी उठ्थ्यो । मैले उनीहरूलाई कहिल्यै घृणा गरिनँ, तर उनीहरूको भविष्यप्रति चिन्ता गहिरिँदै जान्थ्यो । राति अबेरसम्म म उनीहरूको बारेमा सोचिरहन्थें—के म असफल हुँदैछु ? के मेरो मेहनत व्यर्थ जाँदैछ ?
कतिपय बेला मलाई कठोर बन्नु पनि पथ्र्यो । अनुशासन सिकाउन कहिले कडा शब्द प्रयोग गर्थें, कहिले सजाय दिनुपथ्र्यो । तर त्यो सजाय मेरो रिस होइन, मेरो माया थियो । —भविष्यप्रतिको चिन्ताले भरिएको मायाँ ।
तर दुःखको कुरा के थियो भने धेरैले त्यो बुझेनन् ।
कतिपय अभिभावकले भन्थे,
“किन हाम्रो छोरालाई यति कडा गर्नुभएको ?”
“हामीले त घरमा केही भनेका छैनौँ…”
म चुप लाग्थें । किनकि मलाई थाहा थियो । म जे गर्दैछु, त्यो उनीहरूको भलाइका लागि हो ।
अझ दुःख त तब लाग्थ्यो, जब विद्यार्थीहरूले नै बुझ्दैनथे । बुबाआमाको मायाँ, शिक्षकको समर्पण सबै उनीहरूका लागि टाढाको कुरा बनेको थियो । मोबाइल, खेल, साथी यही उनीहरूको संसार थियो । किताब उनीहरूलाई बोझ लाग्थ्यो, र म सायद उनीहरूको नजरमा कठोर “मिस” थिए होला ।
एक दिन एउटा विद्यार्थीले रिसाउँदै भन्यो
“मिस, तपाईं किन यति धेरै दबाब दिनुहुन्छ ? हामीलाई आफ्नो तरिकाले बाँच्न दिनुहोस् न !”
त्यो वाक्यले मलाई भित्रसम्म हल्लायो । म केही बोलिनँ, केवल मुस्कुराएँ । तर त्यो रात म चुपचाप रोएँ ।
मैले आफूलाई सोधें के म गलत छु ?
तर भोलिपल्ट फेरि कक्षामा उभिएँ । किनकि मेरो काम हार मान्नु होइन, प्रयास गर्नु हो ।
समय बित्दै गयो । विद्यार्थीहरू आए, गए । कतिपय सफल भए, कतिपय हराए । म भने त्यहीँ उभिएँ उही कक्षामा, उही सपना बोकेर ।
एक दिन, वर्षौँपछि, एउटा युवक मेरो अगाडि आए । अनुहार चिनेजस्तो लाग्यो, तर सम्झन सकिनँ ।
उसले नम्र भएर भन्यो,
“मिस, चिन्नुभयो ?”
मैले टाउको हल्लाएँ “माफ गर, सम्झिन सकिनँ ।”
उसको आँखा रसाए ।
“म तपाईंको विद्यार्थी हुँ मिस… त्यो, जसले कहिल्यै होमवर्क गर्दैनथ्यो… जसलाई तपाईंले धेरै पटक गाली गर्नुभएको थियो…”
अब म सम्झिएँ उही उद्दण्ड, पढाइप्रति बेवास्ता गर्ने विद्यार्थी ।
उसले मेरो खुट्टा छोयो ।
“मिस, म तपाईंलाई माफी माग्न आएको हुँ ।”
मेरो मन छक्क प¥यो “किन र ?”
उसले गहिरो सास फे¥यो
“जीवनले मलाई धेरै सिकायो मिस । जब म समस्यामा परेँ, जब साथीहरूले साथ छोडे, जब घरमा आर्थिक संकट आयो । त्यस बेला मैले बुझें, तपाईंले किन त्यस्तो गर्नुभएको थियो ।”
उसको स्वर कम्पित थियो ।
“आज म संघर्ष गरिरहेको छु मिस । धेरै ठाउँमा असफल भएँ । तब सम्झिएँ तपाईंले भन्नुहुन्थ्यो, ‘अहिले मेहनत नग¥यो भने पछि रुनुपर्छ ।’ मिस… म अहिले रोइरहेको छु ।”
मेरो आँखा पनि रसाए ।
उसले फेरि भन्यो— “मिस, मैले बुबाआमाको मायाँ पनि बुझिनँ, तपाईंको कडाइ पनि । मैले सबै कुरा गुमाएपछि मात्र बुझें म कति गलत थिएँ ।”
त्यो क्षणमा मेरो मनभित्र अजीब शान्ति आयो ।
मैले उसलाई उठाएँ र भनें
“ढिलो भए पनि, तिमीले बुझेका छौ त्यही नै ठूलो कुरा हो । जीवन कहिल्यै सकिँदैन, फेरि सुरु गर्न सकिन्छ ।”
उसले आशाले भरिएका आँखाले मलाई हे¥यो ।
त्यस दिन घर फर्किंदा मेरो मन हलुका थियो । मैले महसुस गरें । मेरो संघर्ष व्यर्थ थिएन । सबैले तत्काल बुझ्दैनन्, तर समयले सबै सिकाउँछ ।
आज पनि म त्यही कक्षामा उभिन्छु । नयाँ अनुहारहरू, नयाँ सपना, नयाँ चुनौतीहरू । तर मेरो अठोट उस्तै छ ।असल विद्यार्थी बनाउने ।
किनकि म जान्दछु । आज नबुझे पनि, भोलि उनीहरूले अवश्य सम्झनेछन् । मेरो कडाइभित्रको माया बुझ्नेछन् ।
र त्यो दिन मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार हुनेछ ।
यसरी, मेरो जीवनको प्रत्येक सास, प्रत्येक पसिना, विद्यार्थीकै नाममा लेखिएको छ ।
यो केवल पेशा होइन, यो मेरो धर्म हो ।
असल विद्यार्थी बनाउन मेरो सङ्घर्ष मेरो जीवनकै कथा हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।