चार मुक्तक : शिला कुमारी खरेल

चार मुक्तक : शिला कुमारी खरेल

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

छैन केही अस्तित्त्व रीतिथिति परम्परा सबै मासे
आफ्नासँग होइन विदेशीसँग मिठो पिरती गाँसे
त्यसैले आज देश सङ्कटमा फस्दै गइरहेको छ,
फुटेको देख्दा भाइ भाइ वरिपरिका मुख छोपी हाँसे ।

आफूले गरेका कुरा सम्झी सम्झी बन्न बाँकी छ लास
अझै केही बिग्रेको त थिएन थोरै थोरै बाँकी छ आस
सुधार आफूलाई स्वाभिमानी बन्न दास बन्न होइन,
नत्र आफूले खनेको खाल्डोमा परी आफैं हुन्छौ नाश ।

सम्झना मात्र आउँछ कलकल नदीको पानी पिएको
पौरखले कुटो कोदालो खनी स्वाभिमानी भई जिएको
स्वाभिमानीको त कुरै छोडौँ दास बन्दै छौँ दिनानुदिन,
उद्योगधन्दा बन्द गरी लाउँछौँ लुगा अरूले सिएको ।

वर्ष बृद्धिको सुअवसरमा गुरूलाई शुभ दिउँ कामना
सुस्वास्थ्य दीर्घायु आरोग्यता र खुसीले जिउँ कामना
नलागोस् ठेस नझरोस् केश भगवान दाहिना भइरहुन्,
सदा सदा गुरू पाइरहुँ आशिर्वाद यही लिउँ कामना ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।