बुझेका र नबुझेका : महेन्द्र चालिसे (कथा)
बरको रुखमुनिको चौतारी बिहानैदेखि चुप थियो । चिया उम्लिनु पर्ने समयमा पनि हरि दाइको चुलो बलिरहेको थिएन । गाउँमा चुनाव नजिकिँदै गर्दा मान्छेहरू बोल्न थाकेका जस्ता देखिन्थे । बोल्नेहरू माइक समाउँथे, सुन्नेहरू मौन बस्थे ।
धने कामी चौतारीको छेउमा उभिएर कालोपत्रे सडकतिर हेरिरहेको थियो । त्यो सडक बनेको पाँच वर्ष भयो । उद्घाटनका दिन नेताले भनेका थिए—“अब यो गाउँको अनुहार फेरिन्छ ।” अनुहार त फेरियो, तर धनेको जीवन उस्तै रह्यो । बिहान ढुंगा टिप्न खोला, साँझ खाली खल्ती, रात बिरामी श्रीमतीको सास गन्दै बित्थ्यो ।
“आज ठूलो नेता आउँदैछन् रे”, हरि दाइले चिया बनाउँदै भने ।
धने हल्का हाँस्यो । “नेता आउनु र पानी पर्नु उस्तै हो हरि दाइ,” उसले भन्यो, “आउँछ, गर्जिन्छ, तर हाम्रो आँगन सुक्खै रहन्छ ।”
दिउँसो गाउँ अचानक ब्युँझियो । गाडीका सायरन बज्न थाले । धुलो उड्यो । कालो चश्मा र कालै लुगा लगाएका मान्छेहरू अघि–पछि दौडिए । पुराना नेता गाडीबाट ओर्लिए—हिँडाइमा आत्मविश्वास, अनुहारमा परिचित मुस्कान ।
“यो गाउँ मेरो आत्मा हो,” उनले माइक समाएर भने, “म पनि यहीँको गरिबीबाट उठेको हु ँ।”
भीडले ताली बजायो ।धनेले भने बिस्तारै भन्यो, “उठ्नुभयो, तर फर्केर हेर्नुभएन ।”
नेताले गरिबीका कथा सुनाए—नाङ्गो खुट्टा, फाटेको कपडा, दुःखका दिन । उनी सबै कुरा जान्दथे । गरिबी कस्तो हुन्छ भन्ने कुरा उनीहरूलाई पाठ जस्तै कण्ठस्थ थियो । तर त्यो ज्ञान अब उनीहरूको जीवनमा अनुभूति थिएन, भाषणको सामग्री थियो ।
सभा सकिएपछि धने नजिक गयो । “साहेब,” उसले भन्यो, “मेरो छोरो धेरै बिरामी छ । अस्पताल—” नेताले हात उठाएर रोके । “कार्यकर्तासँग कुरा गर्नुहोस् । प्रक्रिया मिलाउनुपर्छ ।”
प्रक्रिया । धने त्यो शब्द बोकेर घर फर्कियो ।
केही दिनपछि नयाँ नेता आए । युवा, चर्को आवाज, सामाजिक सञ्जालको भाषा । “पुरानाले देश बिगारे,” उनले भने, “हामी नयाँ पुस्ता हौं, हामी परिवर्तन गर्छौँ ।”
भीड फेरि तात्यो । धनेको मनमा पनि सानो आशा पलायो ।
सभा सकिएपछि ऊ फेरि नजिक गयो । “दाइ,” उसले भन्यो, “तपाईं नयाँ हो, हाम्रो कुरा—”
नेताले उत्साहका साथ भने, “दाजु, हामी सिस्टम नै बदल्छौँ ।” “सिस्टम बदल्नुअघि,” धनेले भन्यो, “मेरो छोरो जोगिनु पनि त प¥यो ।”
नयाँ नेता अलमलिए । “त्यो त स्थानीय तहले हेर्ने कुरा हो ।”
त्यही क्षण धनेले बुझ्यो—यी नयाँ नेताले गरिबी देखेकै छैनन् । गरिबी उनीहरूका लागि न त भोक हो, न त डर— केवल नारा हो ।
छोराको अवस्था दिनदिनै बिग्रँदै गयो । राति ज्वरोले काँप्थ्यो । “अस्पताल लैजानुपर्छ,” श्रीमतिले आँसु झार्दै भनिन् ।
धने चुप थियो । पैसा थिएन । नेताहरू भाषणमा थिए ।
त्यो रात छोराको सास गह्रौँ भयो । धनेले छोरो काखमा बोकेर दौडियो, तर बाटो लामो थियो, खल्ती खाली । छोराले बाबुको सर्ट समातेर बिस्तारै भन्यो, “बा… म ठीक हुन्छु हगी ?”
धनेले केही बोल्न सकेन । छोराकोे सास त्यहीँ रोकियो ।
भोलिपल्ट गाउँमा फेरि सभा थियो । माइक, झण्डा, नारा । धने कामी भीड चिरेर अगाडि गयो । “परिवर्तन के हो ?” उसले सोध्यो । नेता अचम्म परे ।
“मेरो छोरो मरेको छ,” धनेले शान्त स्वरमा भन्यो, “तपाईंहरूको बुझाइ र प्रक्रियाबीच ।”
भीड स्तब्ध भयो । धनेले अन्तिम कुरा भन्यो— “पुरानाले गरिबी बुझे, तर पचाए । नयाँले गरिबी बुझेकै छैनन् । र हामी—जनता—दुवैका बीचमा मर्दै छौँ ।”
ऊ फर्कियो । बरको रुख उस्तै थियो । चौतारी उस्तै थियो । तर अब त्यो चौतारीमा एउटा कुरा थपिएको थियो— नेताका भाषणभन्दा ठूलो, मौन जनताको सत्य ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
