विनीसा : शम्भु प्रकृति (कथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
धरानकी थिई ऊ । जोरपाटीतिर बस्थी कि खोइ कता हो जम्मा एकपटक मात्र भेट भयो उसङ्ग । तर निकै फरासिली थिई ऊ । मेरो मोबाइल नम्बर कसरी पाई उसले त्यो त थाहा भएन । मोबाइलमा निकै खुल्ला रुपमा कुरा गर्दथी ऊ । आफुलाई श्रेष्ठ थर बताउने ऊ रहिछ गुरुङ । मान्छे कालीकाली र गाउँले परिवेशले छोपिएकी उसको ब्यवहार सरल थियो ।
मेरो पहिलो र अन्तिम भेट उसँग बौद्धमा भएको थियो । बौद्ध स्तुपा वरिपरि घुम्दै र गफिदै हाम्रो समय कटेको थियो । केही बेर त्यतै बसेर हामी कमलादी पुगेका थियौं नेपाल प्रज्ञा प्रतिष्ठानतिर लोकगीत प्रतियोगिता हेर्नको लागि भनेर । मलाई लोकगीतमा खास रुचि होइन । उसैलाई साथ दिउँ भनेर गएको थिएँ । उसले आफ्नो फूपू हो कि कसलाई बोलाएकी थिई एकेडमी बाहिर । हामी सबैजना टिकट लिएर लोकगीतको कार्यक्रम हेर्न पुग्यौं । मैले केही खानेकुरा र जुस किनेर लगेको थिएँ । विनीसाले साँच्चिकै रमाइलो मानेर हेरेकी थिई उक्त कार्यक्रम । उसको स्वभाव नै ग्रामिण थियो काठमाडौंमा भएर पनि । बौद्धमा भेट हुँदा र गफ गर्दै एकेडमीसम्म गाडीमा पुग्दा हामीले एक अर्कालाई जान्ने मौका पायौँ ।
विनीसाको परिवार ठुलो थियो । दुईवटा आमाका ८–९ जना सन्तानहरू भएका । काम गरेर जीवनयापन गर्ने उनीहरू लायकका थिए । विनीसा शारीरिक जीउडालले निकै आकर्षक देखिन्थी कालो जिन्स र भेस्टमा । अन्दाजी २२–२४ बर्षकी ऊ अलिकति शालीन र फरासिली देखिन्थी । उसकी दिदी जानुका ट्राभल एजेन्सी हो कि मनी एक्सचेञ्जमा म सङ्ग चिनजान हुँदा । फोनमा धेरै पटक कुराकानी भएपनि व्यबहारमा जम्मा एकपटक भेट भयो त्यो पनि सातदोबाटो ललितपुरमा ।
जानुकाले मसङ्ग केही पैसा माग्नुभएपनि मैले सहयोग गर्न सकिन । सायद विनीसाले जानुकाबाटै मेरो नम्बर पाई र मसङ्ग हिमचिम बढाई । पहिलो भेटमै उसले भनी – “मैले त पढेकी नै छैन ।” मलाई अनौठो लाग्यो उसको बोलीचालीले । फोनमाश्रेष्ठ भनेपनि उसको अनुहार र हाउभाउ गुरुङको थियो । भेटमा उसैले भनी – “म विनीसा गुरुङ र घर धरान ।” मेरो लागि उसको फ्रयाङ्क व्यवहार र बोली नै काफी थियो सम्बन्धलाई अगाडि बढाउनका लागि । आफू एउटा शिक्षक भएकोले उसको अनपढ जीवनलाई शिक्षा र ज्ञानको चेतनाले भर्न मनलाग्यो र भने – “तिमी पढ्छौ भने म तिमीलाई पढाँउछु ।” उसले खासै प्रतिक्रिया जनाइन । पढाई भन्दापनि उसलाई मोजमज्जा र बाहिरी क्रियाकलापमा रुचि थियोे सायद । “म त काम गर्छु । हामी छोरीहरू सब काम गर्छौ ।” उसले भनी । सायद उसको परिवारमा छोरीहरू धेरै थिए । द्वन्दकालमा सायद उनीहरू काठमाडौं छिरेका थिए र यतै संघर्ष गर्दै थिए ।
विनीसाले भनेको एउटा कुरा भने मलाई गज्जब लाग्यो । त्यो के भने उसले भनी – “मलाई मार्शल आर्ट आउँछ र म आफ्नो आत्मरक्षा आफै गर्नसक्छु । शारीरिक रूपमा म फिट छु र शारीरिक परिश्रम गर्दछु ।” उसको जिउडाल हेर्दा यसको छनक पाइन्थ्यो । शारीरिक रूपमा फिट तर मानसिक रुपमा अनपढ । व्यबहारले खारिएकी र सांस्कृतिकरुपमा खुल्ला उसङ्गको सान्निध्य मेरालागि बडो रुचिकर थियो ।
नेपालका पुर्वेलीहरू बडो खुल्ला र फरासिला हुन्छन् भन्ने मान्यताको पक्षपाती म उसको सङ्गतले मेरा धारणालाई बल पुगेको थियो । ऊ गुरुङ भएकोले बौद्ध धर्म–संस्कृतिसङ्ग तादात्म्य हुने नै भयो । फेरि मेरो पनि बुद्धसङ्ग विशेष अनुराग भएकोले हाम्रो पहिलो भेट नै बौद्धमा भयो । एकेडेमीमा लोकगीतको कार्यक्रम सकिएपछि ऊ र उसकी फुपूलाई एउटा केकसपमा लगेर खाजा खुवाँए । उसकी फुपू एउटा बच्चा बोकेर आएकी थिइन् क्यारे । खाजापछि उनीपनि बिदा मागेर गाडी चढिन् रत्नपार्कबाट । म र विनीसा जोरपाटीको माइक्रोबसमा चढेर लाग्यौं घरतिर । गौशालासम्म म र ऊ थियौं गफिदै । म गौशालामा ओर्लिएँ भने ऊ जोरपाटीतिर लागी । त्यसपछि हाम्रो भेट कहिले भएन । ऊ आफै टाढा भई । किन हो मैले बुझ्न नै सकिन । हामी राम्रा साथी भएका थियौं बिना कुनै आग्रह र पुर्बाग्रह । आज तमु ल्होसार भएकोले अनायास मैले उसलाई सम्झन पुगें । एउटा कुराले मलाई सधैं झक्झकाई रहन्छ, त्यो के भने यदि विनीसाले पढेकी भए ऊ कति प्रतिभाशाली हुन्थी होली। केटीहरूको लागि पढाईलेखाइ र शिक्षा कति महत्वपूर्ण हुन्छ भन्ने मलाई यहाँ लाग्दछ उनीहरूको ब्यक्तित्व विकास गर्न ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
