छोरो बिग्य्रो निरन्तर : त्रिलोचन आचार्य (कविता )

छोरो बिग्य्रो निरन्तर : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

फोरेन बैँकको ताला चोरेन अरुको घर
भरेन लुटले झोला छरेन भ्रम हर्हर
गरेन झूटको खेती अनुहार छ निख्खर
आमा भन्छिन्रुँदै – मेरो छोरा बिग्य्रो निरन्तर

हेर्दैन कसरी टिप्छ परेवा बाजले पर
हिँड्दैन भ्रमको जालो बनाईकन सुन्दर
छानी छिमेकका बाउ तानी ल्याएन खै घर ?
भन्छिन् आमा कठै मेरो छोरो बिग्य्रो निरन्तर

के पढ्यो र सधैँ आफ्नै खेत जोत्न रमाउँछ
न कैल्यै अरुको बाली लुट्दै मख्ख बनाउँछ
चारो छर्दै चरीलाई भन्दैछु पिँजरा भर
तर त्यो कत्ति बुझ्दैन छोरो बिग्य्रो निरन्तर

आफ्नै सोझो गरी बस्दा अरुले गन्दछन् कहाँ ?
ओहो हजुर जस्तो ता अरुले भन्दछन् कहाँ ?
चरी खाने बन्यो नाथे गरी खाँदैन भो डर
मोरो टाढा नपुग्ने भो छोरो बिग्य्रो निरन्तर

मान्छु कानून पो भन्छ जता पनि लुरुक्कन
जासुसी गर्न जान्दैन हिँड्छ बाटो सुरुक्कन
ब्वाँसो भै गन्छु भन्दैन खसी बाख्रा बरोबर
भन्छ सत्सँगमा बाँच्छु, छोरो बिग्य्रो निरन्तर

न्याय पढाउँदैआफैँ राख्न जान्दैन बन्दुक
थाहै पाउन्न अर्काको कहाँ छ धन सन्दुक
आफ्नै गाई र गोठालो गरेर हित हुन्छ र ?
अर्काको तिर खै ध्यान ? छोरो बिग्य्रो निरन्तर

न युक्रेन छिरेको छ न भेनेजुयलातिर
न कुनै सी सी बोकेर खुट्टा घुमाउने पर
नागिँनै कत्ति जान्दैन लाज मानेर हुन्छ र ?
ए बाबा सुध्रिने कैले ? छोरो बिग्य्रो निरन्तर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।