मञ्चमा नेपाल बोल्दछ : याम बहादुर थापा मगर (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
मञ्च केवल अभिनयको ठाउँ होइन,
यो हाम्रो आत्माको प्रतिध्वनि हो ।
जहाँ माटोको गन्ध, ढोलकीको ताल,
र गुराँसको रङ मिसिन्छन् ।
रङ्गमञ्चमा नेपाल हिँड्दछ ।
कहिले किसानको रूपमा, कहिले राणाको छायामा,
कहिले आमाको पीडा बनेर,
कहिले युवाको स्वप्ना बनेर ।
यो मञ्चले देखाएको कथा
केवल नाटक होइन,
संस्कृतिको शिरमा राखिएको दीप हो।
हामी जोगाउँछौं परम्परा,
बोलाउँछौं नयाँ पुस्तालाई
यो कला तिम्रो हो, यो पहिचान हाम्रो हो।
रङ्गमञ्चले जोड्छ पहाड, तराई, हिमाल
भाषा फरक, भावना एउटै ।
जातजाति फरक, एकता बलियो
पर्यटक आउँछन्, ताली बजाउँछन्,
तर हामी बुझ्छौं — यो त हाम्रो आत्माको उत्सव हो ।
संस्कृति जोगाउन र प्रवद्र्धन गर्न,
मञ्च हाम्रा मुटुका ढोका हुन् ।
जहाँ शब्दहरू नाच्छन्, भावना गुञ्जिन्छ,
र नेपाल आफ्नो स्वरमा बोल्दछ ।
कला नै हाम्रो पहिचान हो ।
धेरै स्थानमा गुमराहमा परेको
विश्वको नजर तान्नु नै नेपालीको
सुखी नेपाली बनाउनमा रणनीति तय भएको
आत्मानुभुति गर्न ढिलो नहोस् ।
हाम्रो पालामा विकासको अचुक उपाय खोजी गरे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
