हिँड्दिनँ त्यो बाटो : परिवेश मुन्छे ( कविता )

हिँड्दिनँ त्यो बाटो :  परिवेश मुन्छे ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस १९।

उचाल्दा–उचाल्दै झण्डाहरू,
बोक्दा–बोक्दै पर्चाहरू,
चर्काउँदै–चर्काउँदै नाराहरू—
लगाउँदै–लगाउँदै
मासुभातमा सिट्ठी…

खोज्दै–खोज्दै सुशासन,
हामी
निकै टाढा
हिँडिरहेछौँ…
बाले हुक्का ताने,
मलाई भेप मन पर्यो —
तर
हामीले उडाउने धुवाँ
एकैनास
घुमिरह्यो…

हामी हिँड्न बिर्सियौँ कि?
कि
कालोपत्रे बाटोले
हामीलाई
भुलायो?

अझै पनि
एक हुल मान्छे हिँडिरहन्छन्—
सिट्ठी बजाउँदै,
त्यही बाटो,
जुन बाटो हुँदै
हाम्रा बा
मुग्लान पसे,
साथीहरू
खाडी पसे…

जुलुस निस्किएको छ
त्यही बाटोमा…
जुन बाटो हुँदै
पुगेको थियो
भाइको लाश—
श्मशान घाट…

अब
भाइ मार्नेहरूकै नाममा
शङ्ख फुक्दै—

कसरी
हिँडूँ
त्यो बाटो?

बरु
निस्किन्छु एक्लै,
बाटो खन्न……

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।