चार मुक्तक : शारदा ‘दीप्ता’
कपन अनलाइन
काठमाण्डौ ,पुस १३ ।
मुक्तक १
साँचेर रहर तृष्णाको पर्खाल जोड्यौ मान्छे
धनको मोहमा सत्यको बाटो मोड्यौ मान्छे
जानु छ खाली नियति नियम बुझेर पनि,
धनको गाँठो किन अझैं कसेरै छोड्यौ मान्छे ।
मुक्तक २
तिम्रो आँखामा उभिएको उज्यालोले फुलिदिन्छ
फालेर हृदयभित्रका सबै अध्याराहरू खुलिदिन्छु
मनको बगैँचामा तिम्रो स्मृतिको हावा चल्दा,
नफुलेका भावनाहरू पनि फुलाएर झुलिदिन्छु ।
मुक्तक ३
दुःखत केवल बाहिर देखिएको भार हो बुझौँ
गन्तव्य खोज्ने हातले आँटेको आधार हो बुझौँ
किन डराओस् जीवन, कठोर बाटो देखेर,
जाग्छ भित्रको शक्ति बनाउँछ सुन्दर संसार हो बुझौँ ।
मुक्तक ४
मान्छे होइन गानिन्छ संख्या नाफामा बाँधिन्छ व्यवहार कस्तो
संवेदनाको शवमाथि चलाइन्छ राष्ट्रको व्यापार कस्तो
हल्ला बोल्छ सडक तात्छ तुरुन्तै देशद्रोहको आरोप,
कानुन अन्धो बनाइन्छ यहाँ चेतनाको कारागार कस्तो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
