परिवर्तन : विमला घिमिरे ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस १२।
जब चेतनाको ज्योति ब्रह्माण्डभरि चम्किन्छ,
पुरानो धरातल छोडी विचारका पाइला लम्किन्छ ।
न सीमाले छेक्छ, न डरले भेट्छ,
मानव मनले विश्वव्यापी सत्य समेट्छ
तब आउँछ परिवर्तन…
जब विज्ञानको रापले अँध्यारोलाई चिर्छ,
अदृश्य प्रश्नलाई तर्कले जित्छ
अन्धविश्वासको पर्दा ज्ञानको हतौडाले टुट्छ
मानव स्वतन्त्रताको मूल फुट्छ ।
तब आउँछ परिवर्तन…
जब सम्पर्कको जालोमा संसार एक हुन्छ,
भौगोलिक दूरी नाघेर प्रेम र मिलन चुम्छ
विविधतामा एकताको शङ्ख घोष हुन्छ
हरेक आवाजले न्यायको मूल छुन्छ ।
तब आउँछ परिवर्तन…
जब प्रकृतिसँगको नातालाई फेरि स्वीकारिन्छ,
भविष्यको लागि जिम्मेवारी तिखारिन्छ
सन्तुलन नै जीवनको सार हो भन्ने बुझिन्छ,
पुरानो गल्तीको पाठबाट नयाँ अध्याय सुझिन्छ
तब आउँछ परिवर्तन…
यो निरन्तर प्रवाह हो, यो जीवनको नियम,
हरक्षण विकसित हुने विश्वको प्रिय मौसम ।
अस्वीकारको पर्खाल स्वीकृतिले भत्काउँछ,
हरेक पलमा नयाँ सम्भावना झल्काउँछ ।
तब आउँछ परिवर्तन
तब छाउँछ परिवर्तन
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
