हिसाब : मधुसूदन पराजुली मानव (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २२।
“छोरा ह्याँ आइज त” रमेशले आफ्नो छोरा नरेशलाई बोलाए ।
नरेश पनि तत्काल बाबुको सामु उपस्थित भयो । “के भयो बाबा ?”
“आइज त, पसलको हिसाब गरौँ एकछिन । कति नाफा–नोक्सान भएछ ।”
“ए हुन्छ बाबा ।”
दुवै बाबु छोरा हिसाब गर्न बसे ।
“बाबु, ३५×७० कति हुन्छ ?” रमेशले छोरा नरेशलाई प्रश्न गरे ।
कति चाँही होला त ?उसले सोच्न थाल्यो। उसको मष्तिस्कले हिसाब गर्नै सकेन । बाबालाई के जवाफ दिने ऊ अकमकियो । ‘बाबाले के सोच्नुभयो होला ?’ उसको अनुहारमा चिट्चिट् पसिना छुट्यो । ‘आज किन मोबाइल ल्याइनछु ?’ नरेशलाई पछुतो लाग्यो ।
“बाबा, म वास रूम जान्छु है” छोरा प्रश्नबाट पन्छियो ।
छोराले हिसाब गर्न नसकेर उनी निराश भए । मनमनै ‘के गरेर खाला यसले’ भनी सोचे र मसिनो स्वरमा छोरा नरेशलाई अह्राए, “आउँदा टेबुलमा क्याल्कुलेटर छ, त्यो पनि बोकेर आइज ।”
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
