काउसो : मनीषकुमार शर्मा ‘समित’ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २२।
संसद भवनको अगाडिa ठूलो तयारी, रातो कार्पेट, ठूलो ब्यानर र ब्यानरमा लेखिएको थियो–
“विशेष पाहुनाको स्वागतमा – नयाँ युगको सुरुवात !”
पत्रकार, मन्त्री, सभासद् सबै ठाँटिएको पहिरनमा उत्सुकतामा प्रतीक्षा । चिल्लो कालो गाडीबाट उत्रियो सानो पाहुना । आकार सानो, तर चमक र चिप्लोपन नेता जस्तै ।
पत्रकारले माइक अगाडि बढायो —
“तपाईंको परिचय ?”
ऊ मुस्कुरायो –“दिनै पर्छ र ? परिचित छैन र ?”
“संसदमा किन ?” पत्रकारको पुनः प्रश्न ।
ओठमा कुटिल मुस्कान ल्यायो –
“यहाँका सबै सदस्यहरूसँग परिचित छु । अनेकौं रुपमा छु तर प्रत्येकको शरीरमा टाँसिएको छु । निकाल्न खोजे उत्पात मचाउँछु, त्यसैले सबैले आफ्नो देहमा रहन दिएका छन् ।”
मन्त्री, सभामुख लगाएतका संसदहरूले स्विाकरोक्तिमा समर्थन जनाए–
“हो, हामीले त उहाँ बिना राजनीति गर्नै सक्दैनौ !”
सबैले ताली बजाए । उसले हात हल्लायो र कुर्सीमा बस्यो । संसदहरूले सर्वसहमतमा उसलाई स्थायी सदस्य घोषित गरे र एकाएक संसद भवन गुञ्जयमान भयो –
“जय काउसोतन्त्र !”
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
