आउँ नयाँ बिहानी कोरौ : मणिराज सिंह (कविता )
कपन अनलाइन
काठमाण्डौ,असोज ४।
नियति साटासाट गर्ने बेला वतासको रङ्ग बेग्लै भएझैँ
हावामा माटोको सुगन्ध झुण्डिएको मौन स्वारोक्तिमा
बुलन्द तर कोमल मशाल सल्काएर छातीको तूनामा
नयाँ उमङ्ग र जोशले गुन्जायमय बनाउँदै पाखा पखेरा र गाउँ शहर सारा
आकाशभरि प्रष्फुटन भएको छ आत्मसम्मानको बलिदानी धून
देश बिनिर्वाणको क्रान्तिकारी संगीतमय आलोक
जसको सुगन्धमा मगमगाएइरहेको छ आमाको कोमल मातृत्व
राष्ट्रप्रेमको निस्वार्थ आहुती ।
अन्कन्टार मनका देउरालीमा भुल्दै गर्दा पनि
आफ्नै आँगन, पिढी र पँधेरोसित आक्रोशित अनुहार मौलिकताको उपहास गरेर खिल्ली उडाएको मर्माहत प्रतिस्पर्धामा बाजि मार्न
भित्रभित्रै नराम्रोसित पिरोलिँदै आशा निराशाको दोसाँधमा हत्तु भएको पललाई
सुनौलो वर्तमानमा परिणत गर्न जुर्मुराएका छन्
कोमल रगतका सप्तरङ्गी सपना बुन्दै गरेका युवा जोश जुरुक्कै ।
बाध्यताको बन्धनमा जकडिएर टिठ लाग्दै गर्दा पनि कहिलेसम्म पर्खने ?
चिन्ताले मर्माहत हुँदै खिल्ली उडाएर आँफैमाथि लाचारिपन कोरिरहने हामी कहिलेसम्म ?
समय, सन्दर्भ र परिस्थितिमा समयानुकूलको दायित्व बोकेर
मन भिजाएर बर्षाती रागमा कहिलेसम्म रमाइरहने ?
टुक्राटुक्रा हिउँका डल्लाहरू उफार्दै एकापसमा
कहिलेसम्म रमाइरहने हामी भ्रष्टाचारमा भासिँदै ?
साथीहरू, हाम्रो आलमलको खिल्ली उडाउँदै
हाम्रो खटपटको भेउ नियालेर
अल्लारे जोशको मुन्टो अठ्याउन
ब्वासाहरू ¥याल काढ्दै मुख मिठ्याउन थालेका छन्
उपदेश फलाक्दै हामीलाई नै ढ्याङ्ग्रो ठटाउन लागेका छन्
होश गरौँ र एकता नभत्काऔँ
खुकुरी तिखारौँ र दुशचक्र चिर्दै
त्यो क्रान्तिको ज्वाला निभ्न नदिने संकल्प दोहो¥याउँदै
फेरि एकजुट होऔँ र अघि बढौँ
भ्रष्टहरूको चङ्गुलबाट देशलाई मुक्त गरौँ
नयाँ नेपाल बनाउने सङ्कल्पतर्फ अग्रसर हुँदै
शुसंस्कृत र सभ्य समाजको राजमार्ग पुनर्निर्माण गरौँ ।
आउँ एकछिन् गलफत्ती र लिडेढिप्पी विर्सेर
आँखामा आँखा जुधाउँ र आगोसित बात मारौँ
नदीको दोभानमा उभिएर जूनको प्राकृतिक रागमा
समयसित कान कानमा फुस्फुसाउँदै सामाजिक सन्जालभरि
बेमतलवका अर्घेली परपरसम्म घचेट्दै
छलछामका शब्दजाल चिरेर
अवसरको सदुपयोग गर्दै सशक्त भविष्य लेख्न
एकअर्कासित साउती गरौँ
हृदयको स्पन्दनहरू सुम्सुमाएर
आउँ नयाँ विहानी कोरौँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
