नयाँ यात्रा : रत्नप्रसाद अनामनी श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाडौँ, साउन ३१।
सुनसान छ गाउँ
सुनसान छ खण्डहर घर
आँगनभरी झार
सालनाल गाडेका प्रीय बारीका पाटाहरू
निउरिएर स्वागत गर्न तयार अमृसोहरू
मालिक पर्खिएर बसेका खिइँदै गएको खुड्किलाहरू
लाईन काटेर राखेका उज्यालो सपना बोकेका बल्बहरू
त्यो चिसो चुलो
न्यानो दिन तयार केही दाउराहरू
आत्मीय बस्तुभाउ हेर्न आतुर किलोहरू
उजाड उजाड मन
उजाड उजाड त्यो कुहिरोले ढाकेको पल
कतै प्राकृतिकले खोजेको मान्छे
कतै मान्छेले खोजेको प्राकृतिक
हिजोको बाजेको कल्पना
आजको बुबाले देखेको बिपना
भोलिको छोरा छोरीले देखेको सपना
कति अन्तर छ यी पुस्ताहरूमा
न देखे समाजले
न देखे राजनीति नेताहरूले
न मलाई साथ छ
न मलाई बिरोध छ
म मर्न दिन्न मेरो पुर्खाको आशालाई
बारीको दिलमा थुच्चुक बसेर
दुई वटा क्यान बियरले
शरीर चिसो बनाएर
अठोट गर्दैछु
अब नयाँ यात्रा !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
