सुन्दर पारौ वातावरण : अनिता ढकाल (कविता )

सुन्दर पारौ वातावरण : अनिता ढकाल (कविता )

कपन अनलाइन

काठमाडौँ, साउन २४।

हरिया डाँडा तराई बेसी हिमाल हाँसेको
स्वर्गको टुक्रा नेपाल हाम्रो चरीले नाचेको
बिहानी घाम रातमा जून चम्केका ताराले
उज्यालो छर्दा शीतका मोती टिपेर साराले ।

प्रकृति हाँके, मानव जाती चन्द्रमा पुगेका
वनका जरा फूल र पाती ओखती लुकेका
खोजेर यहाँ निकाली दिंदा पालुवा कलिला
हुर्केर जालान् अनाज देलान् जङ्गल मलिला ।

खोला र नाला थिचिए बोट जङ्गल मासिए
डोजर चले खोस्रेर माटो पहरा भासिए
बाढी र पैह्रो खडेरी लाग्यो विषाक्त फोहोर
बढेर आयो रोगको घर टिबी र क्यान्सर ।

धुँवाको मुस्लो उडेर ढाक्यो विशाल आकाश
पातलो ओजन विषाक्त हावा छरियो प्रकाश
चिथोर्दा धर्ती जीव र जन्तु डराए हराए
विज्ञान भन्छ प्रकृति स्वयं दिनेछिन् सजाय ।

तनमा कष्ट धनको नाश जनमा विभेद
खाड्ल बन्दा आत्तियो मन पारौँ न सफेद
कमला हाम्रा पहाड थर्के बलियो नठान
नगरौँ चर्को माटो र पानी प्रकृति दोहन ।

प्रविधिलाई विकास गरौँ प्रकृति पुँजेर
स्वास्थ्यको पनि स्याहार गरौँ समता बुझेर
सबैको साझा बगँैचा यौटा रोपेर जङ्गल
कल्याण होला जगत सारा हुनेछ मङ्गल ।

धरती राम्रो सम्पदा हाम्रो नामी छ विश्वमा
फोहोर पनि मोहोर बन्ला जुटेर लागेमा
बनाऊ नीति मिलेर सबै भो’ चीरहरण
नेपाल हाम्रो सुन्दर पारौँ यो वातावरण ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।