चार मुक्तक : नीता गुरूङ्ग भाटिया

चार मुक्तक : नीता गुरूङ्ग भाटिया

कपन अनलाइन
काठमाडौं असोज १९।
मनमा पीडा लुकाएर बाँचिरहेछु
उसैको यादमा जीवन साँचिरहेछु
नियतिको लेखाई यस्तै रहेछ मेरो,
पीडित मन भित्रभित्रै भाँचिरहेछु ।

तिमीसँग भेट्ने आश बनी बसेछु
बेजान दुई मुट्ठी श्वास बनी बसेछु
बसेछु भरोसाको तितो जहर पिउँदै,
दिन– दिनै जिउँदो लास बनी बसेछु ।

नजाऊ तिमी मलाई एक्लो छोडेर
बसेको मायालाई हठात् यसरी तोडेर
निर्मोही रहेछौ तिमी बल्ल थाहा भयो,
त्यसैले होला गयौ तिमी गन्तव्य मोडेर ।

साउनको झुलामा झुल्न आऊ प्रिये
गाएर प्रेमको गीत भुल्न आऊ प्रिये
कति बस्छौ टाढिएर अब त आइहाल,
मेरो प्रेमसरी बगैचामा डुल्न आऊ प्रिये ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।