आत्मविश्वासः कति सत्य ? डा. रामेश्वर अधिकारी

आत्मविश्वासः कति सत्य ? डा. रामेश्वर अधिकारी

कपन अनलाइन
काठमाडौं असोज १९।

हिमालयभन्दा अग्ला छन्
मेरा जीवनका कामनाहरू ।

धमिरा र मुसाहरूको
कुटुकुट्याइले दिक्क पार्दा,
धैर्यका साथ
दुला र प्वालहरू टाल्दै
अघि बढिरहे पनि,

जब म हिमनदी बनेर
निरन्तर बगिरहेकै हुन्छु,
समुद्र भेट्ने मेरो अभिलाषालाई
पहाडले अवरुद्ध गरिदिन्छ ।

सुरुङ खनेर
मलाई पार लगाइदिने
कुनै महाशक्तिको प्रतीक्षामा बस्ने
धैर्य मसँग नभएको होइन ।

तर,
मेरो आत्मविश्वास,
मेरो अनुभव,
र मेरा भावनामा
आँच आउने भयले
आफ्नै बाहुबलका भरमा
पहाडसँग टक्कर लिइरहेको छु ।
थाहा छ मलाई—
पहाडसँगको यस टक्करमा
मेरो अस्तित्व
स्वतः समाप्त हुन सक्छ ।

तर,
स्वाभिमान गुमाएर
मृत अस्तित्व बोकी हिँड्नुभन्दा,
आफ्नो अस्तित्व जोगाउने प्रयासमै
अस्तित्व समाप्त हुनु
मलाई श्रेयस्कर लाग्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।