लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोष ‘ लोकार्पण

लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोष ‘ लोकार्पण

कपन अनलाइन
काठमाडौँ, साउन ७।

आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोजअनुसन्धान अघि बढेको छ।यसै क्रममा प्रा डा. दुविनन्द ढकाल,शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रीय अध्यक्ष, भाषाविद् कमल सिं रानाको संयुक्त सङ्कलन,लेखन तथा सम्पादनमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोष’ प्रकाशित भएको थियोे ।

उक्त शब्दकोशको लोकार्पण यही साउन ३ गते कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका डिन तथा प्रा. डा. दुविनन्द ढकालले गरेका थिए  ।उनले ‘रानाथारु भाषाको व्याकरण र शब्दकोष’ले रानाथारु समुदायको भाषा र विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने , लेखनमा शुद्धता र लिपिबद्द गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य मातृभाषा,कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपालीले आदिवासी जनजातिले भाषा,साहित्य र संस्कृति बचाउन सके मात्रै आआफ्नो अस्तित्व र पहिचान जोगिने बताउँदै ‘रानाथारु भाषाको व्याकरण र शब्दकोष’ले रानाथारुको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए  ।

उनले यस्ता महत्त्वपूर्ण कार्यमा प्रज्ञा-प्रतिष्ठान सदैव सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभएको थियोे। कार्यक्रममा विशिष्ट आतिथि लालझाडी गाउँपालिकाका प्रमुख निर्मल राना, रानाथारु भाषाविद् ,भूमि आयोग कैलालीका विज्ञ सदस्य , नेपाल रानाथारु समाज केन्द्रीय अध्यक्ष तथा लेखक कमल सिं राना, रानाथारु समुदायका साहित्यकार पदम राना, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक मोहन चौधरी रहेका थिए।

नेपाल रानाथारु समाज केन्द्रीय महासचिव तीर्थराज राना, नेपाल रानाथारु समाज पूर्व महासचिव तथा लेखक राजकुमार राना , रानाथारु उत्थान मञ्चका सल्लाहकार धोके राना, वार्ड अध्यक्ष आशाराम राना, प्रकाश राना, गोमती राना, अमर राना, घुम्मन राना, भोजराज राना, भक्ता राना लगायतका व्यक्तिहरू अतिथि रहेका थिए  । सभाध्यक्ष नेपाल रानाथारु महिला सङ्घका अध्यक्ष प्रेमवती रानाले उक्त पुस्तकले रानाथारु समुदायको भाषा , साहित्य र संस्कृतिको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने आशा व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।