बुढानिलकण्ठमा भैरहेको जुनियर चेसमा रिया श्रेष्ठको एकल अग्रता 

बुढानिलकण्ठमा भैरहेको जुनियर चेसमा रिया श्रेष्ठको एकल अग्रता 

कपन अनलाइन

काठमाडौं , जेष्ठ ३० ।

नेपाल बुद्धिचाल महासङ्घको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा चलिरहेको प्रथम जुनियर नेशनल चेस  च्याम्पियनसिप अन्तर्गत छात्रातर्फ काठमाडौँका रिया श्रेष्ठले एकल अग्रता कायम गर्न सफल भएकी छन्।

बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा चलिरहेको युवा राष्ट्रिय चेस प्रतियोगितामा रिया श्रेष्ठले पाँच चरणको खेलमध्ये ४.५ अङ्क जोडेर अग्रता कायम गरेकी छिन्।

ओलम्पियाडमा छनोट भएकी रियाले प्रतिद्वन्दी नयुमा मगर, उज्जिभनी कँडेल, निहाना श्रेष्ठ र प्रेसियस अधिकारी माथि जित दर्ता गरेकी थिइन् भने विविशा तामाङसँग बराबरी खेल्न पुगेकी थिइन्।

दोस्रो दिनको स्पर्धामा प्रेसियस अधिकारी, एन्जेल महर्जन, दानिशा पुरी र नेलिसा ओझाले समान ४ अङ्क प्राप्त गर्दै संयुक्त रुपमा दोस्रो स्थान ओगट्न सफल भएका छन्।

यता पुरुषतर्फ ६ चरणको खेल सम्पन्न हुँदा रिसोन थापा र सीएम पुरुषोत्तम सिलवाल समान ६ अङ्क जोडेर संयुक्त रूपमा अग्रता कायम गरेका छन् ।

जारी चेस प्रतिस्पर्धामा आद्यान्त काफ्ले, प्रतीक सुवेदी, एआईएम अभीक शाह, अभिनभ पाण्डे, युनिक गौतम, स्वर्णिम दुवाल र खिमबहादुर पुन समान ५ अङ्क बनाउँदै संयुक्त दोस्रो स्थान ओगट्न सफल भएका छन्।

प्रतियोगिता स्विस लिग क्लासिकल ६० मिनेट ३० सेकेन्ड इनक्रिजमेन्टका बाकी चरणको खेलमा भोलि  रिसोन थापा र सीएम पुरुषोत्तम सिलवाल, प्रतीक र एआईएम अभीक, आद्यान्त र स्वर्णिम, खिम बहादुर र सतिश शाह बीच हुनेछ ।

प्रथम राष्ट्रिय जुनियर चेस प्रतियोगिताका विजेता खेलाडीले कुल २ लाख ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। जसमा छात्र तथा छात्रा समूहका प्रथम देखि पाँचौं स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ४० हजार, २५ हजार, १० हजार, ७ हजार ५ सय र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसैगरी ११० युवा खेलाडी मध्ये ८, १०, १२, १४, १६ र १८ वर्षका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मानित गर्ने छन्।

तपाइँको प्रतिक्रिया ।