बाबुको परिचय : राजेश अधिकारी (कविता )

बाबुको परिचय : राजेश अधिकारी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

कल्पेर हाँस्छु सम्झेर रुन्छु अतित सम्झेर
बाबुको औंली समाई हिड्थें गमक्क गम्केर
बनाई घोडा बाबुको बुई चढेर सवारी
फुरुंग पर्थें राजा नै सरी छिमेक चहारी ।

बाबुको काँध चढेर डुल्थें हाट र मेलामा
खाएर पापा खुशीले हास्थें बालक बेलामा
ती पल थिए मधु झैं मिठा गए ती बितेर
फर्किने छैन,बगेको खोला बबुरो उमेर ।

बाबुको छाती रक्षित ओत शीतल छहारी
उनको गुण निस्वार्थ प्रेम मायाको भकारी
बाबुको हात माथमा पर्दा आशीष अमूल्य
उनको धर्म सन्तान प्रति धर्तीमा अतुल्य ।

बाबुको साख सर्वथा उच्च गगन समान
देव झैं पूज्य बाबुको स्थान गर्छु म सम्मान
बहुल रूप बाबुको हुन्छ सन्तान माथिको
कहिले गुरु कहिले पितृ कहिले साथीका ।

बसेर भोको सहेर तृष्णा लुकाई दुखेसो
सन्तान रोए चिन्ताले फाट्छ बाबुको कलेजो
विश्वको ठुलो, धर्तीको प्यारो, बाबुको स्वरूप
कदको ठुलो मनको उचो सदैब अनुप ।

बाबुको देन राम्ररी बुझ सन्तती भएर
जनक सँग आषिश माग पाउमा छोएर
पितृको श्राप आगोको राप जगमा असह्य
कृतघ्न पिंढी नर्कको बास स्वर्गमा अग्राह्य ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।