काँडासँग संवाद : गोपी रुपाखेती (कविता )

काँडासँग संवाद :  गोपी रुपाखेती (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

एकछिन गुलाफको बोट छेऊ गएर बसेँ
उसलाई चलाएँ
काँडाले चस्स घोच्यो, रगतै निकाल्ने गरी
ऊ अझै रिसाए झैँ थियो
निहुरिएर आँखा तरे झैँ
डराई डराई उसलाई केहि सोध्न खोजेँ
उसँग सम्वाद गर्न मन भो ।

ए काँढा, तिमी किन कोमलतालाई मात्र बिझाउँछौ ?
कठोरतालाई किन बिझाउँदैनौ ?
तिमीहरू काँढा काँढा पनि, कति मिलेर बसेका छौ
एकले अर्कालाई कहिल्यै बिझाउँदैनौ
एक अर्कामा कहिल्यै जुधेका छैनौ
एकले अर्कोलाई छियाछिया पारेका छैनौ
कुनैले कुनैलाई घायल पारेका छैनौ
नजिकै छौ तर एकले अर्कोलाई छुँदैनौ
एकले अर्कालाई छुँदैनौ तर टाढा पनि हुँदैनौ
तर, किन घोच्छौ अरुलाई ?
किन यति निर्दयी ?

प्रश्नहरूको ताँती लागेपछि
ती काँढा जस्तो नभएर
फूल जस्तै नरम बनेर बोल्न थाले,
हामी निर्दयी छैनौ
हामीले आफ्नो ठाउँ छोडेका छैनौ
हामी कतै जाँदैनौँ
खोसेर केहि खाँदैनौँ
जहाँ छौं त्यहिँ रहन्छौँ
कोमलतालाई घोचेका छैनौँ
हेर त हामीले कोमल गुलाफलाई
आफूभन्दा माथि राखेका छौँ
आफूभन्दा माथि निर्बिध्न फूल्न दिएका छौँ
आफू तलै बसेर, स्वतन्त्र भै झुल्न दिएका छौँ
यो त हाँगा तान्नेले सोच्ने हो
हामी त हाँगा भाँच्नेलाई घोच्ने हो
हामी जो सुकैलाई बिझाउँदैनौँ
तर निष्ठूरीलाई रिझाउँदैनौँ
हामीले जोगाएका ति सुन्दर फूलहरू
कतिले टिपेर शिरमा सजाए
उल्टै हाम्रो बदनामी गाए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।