एक पिपलको बोट : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, पुस १३।
१. छाया खोजी वर पर गरी आउने यैँ त होला
माया रोजी गुनगुन गरी धाउने यैँ त होला
बग्दा चिन्तामय जलधिमा तैरिने यैँ त होला
पूजा भन्दै हर दिन खडा भैदिने यैँ त होला ।१।
२. यो जान्दैछस् मनुज तर तैँ ढाल्न खोज्छन् मलाई
शोभा हो यो हरित नभनी फाल्न खोज्छस् मलाई
मास्दै आइस् चउर र भनिस् बास यौटा बनाऊँ
के लैजान्छस् यतिविधि गरी मात्र त्यो जान्न पाऊँ ।२।
३. यै छातीमा कति कति चरा बास बस्छन् रमाई
कैले हाँगातिर पनि डुली बस्दछन् गीत गाइ
के देख्दैनौ हर पल हवा पातले हम्किएका
हैनन् बस्ती वरपर सबै त्यत्तिकै चम्किएका ।३।
४. पुस्तौँ आए यस जमिनमा मान सम्मान राखे
द्यौरालीमा छलफल गरे कर्ममा ध्यान राखे
पुर्खाको यो अनुपम चिनो सम्झिँदै स्नेह पोखे
मैले देखेँ सब मनुजले गर्न भ्याए कहाँ के ।४।
५. आफैँ टेकेँ जमिनतिर यैँ अड्न सक्ने बनेर
टाढा हेर्दै अक्षर युगका पढ्न सक्ने बनेर
खाएँ आफैँ हर तरहले बाँढ्न थालेँ हवा मै
खम्बा बन्ने रहर छ यही चम्किलो सिर्जना कै ।५।
६. होला बाटो भवन गतिलो खेत बारी कि होला
भन्दै मासे हरित गहना जिन्दगी चल्छ होला
पक्षी भाग्लान् पर पर कतै भाग्छ हावा यहाँको
ढल्दा यौटा तरु तर सबै ढल्छ शोभा यहाँको ।६।
७. बाँढ्दै बस्थेँ हर हर हवा चुल्बुली पात चल्थे
बस्थे पंक्षी गुनगुन गरी स्वस्थ भै माथ चल्ने
बिर्सी सारा गुन किन भन्यौ प्राण मेरो उखेल्ने
यो चौतारी र रुख गतिलो मासिँदा को छ बोल्ने ।७।
८. ए मान्छे के हर तरहले सिर्जना मास्न खोज्छस्
सुख्खा पारी प्रकृति रचना फूर्तिले बाच्न खोज्छस्
गर्दै यस्तो उधुम कसरी चल्छ तेरो घराना
मेट्दैछस् वा यस अवनिमा सिर्जनाको निशान ।८।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
