पापार्जित बादल : प्रमोद नेपाल (कविता )
कालो बादल मडारिरहेछन् आकाशमा
ब्रह्माण्डमा
सूर्यको अस्तित्व नभएको बोध गराउँदै
धरती डुबेकोछ अँधकारमा
रातपरेको झैँ लागेर चराचुरुङ्गी पनि फर्कदैछन् गुणतिर
धेरै बेर भै सक्यो कालाम्य भएको पृथ्वी
शायद पानी पर्नु अघिको पूर्व अभ्यास होकि
अचम्म मानिरहेका छन् मानिसहरु
उता हिजोमात्र भिमसेनलाई पसिना आएको थियो अरे
मानिस यस्ता कुरा अलि बढीनै बुझिदिने पनि गर्छन्
एकैछिनमा
कौतुहल मेटाउदै पानी पनि प¥यो घनघोर
कालैे लेदो वर्षदै छ वर्षासँगै
चराचरका सबै अवयव हुँदै छन् कालाम्य
पृथ्वीबाट माथि उडेको अवयबबाट
बादल बन्ने गर्दछ शायद
यहाँका सबै पापार्जित कुराहरु त माथि पुगेनन् ?
घोत्लिदैछु निष्कर्षमा पुग्न
सोच्छु
निष्कर्षमा पुगे पनि
के पो नै गर्न सक्छौं र ?
हो हल्ला न हो एकछिन गरिने
तर चित्तले मान्दैन चुपचाप बस्न
उ चन्चल भैरहन्छ केही क्षण
र
शरीरसँगै सिथिल भएजस्तै गरी
शान्त भएर बस्छ
कुरा बुझेपछि ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक