तीन मुक्तक : दीपा शाही रावत

तीन मुक्तक : दीपा शाही रावत

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

चोटै चोटले दिल घाइते बनायो सदाबहार जिन्दगीले
गन्तव्य बन्दियो दरबार भित्रको कारागार जिन्दगीले
मेरा खुसीका हरेक पलमा बारम्बार आक्रमण हुनाले
चट्याङ पहिरो र उर्लिंदो भेल भए हकदार जिन्दगीले

हरेक शब्द शब्दले छाती रेटिदियौ स्वार्थी रहेछौं
मुटु भित्रै सजाएको थिएँ मेटिदियौ स्वार्थी रहेछौं
सारा सपनाहरू बगर भएर किनाराहरू रुङ्दछन्
समर्पण नबुझ्दा छालमा घचेटिदियौ स्वार्थी रहेछौं

राम्रो भन्दा नराम्रोलाई छान्ने गर्छन् भ्रष्टाचारको जमाना छ
ठुला ठुला सबैका कुरा मान्ने गर्छन् भ्रष्टाचारको जमाना छ
स्वार्थले स्वार्थी भरिएको छ झोला झोलामा खोलानाला बेच्दै
गरिबका पसिनामा पौडिन्छन् जान्नेहरू भ्रष्टाचारको जमाना छ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।