मेरो मृत्यु : डा. विश्वदीप अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं, जेठ १९।
अरुको मृत्युमा
घाटसम्म पुगी
चितामा लाश जलेको देख्दा
एक छिन वैराग लागे पनि
घर फर्केपछि
आफ्नो पनि मृत्यु हुन्छ
भन्ने कहिल्यै लागेन
लाग्दै लागेन मलाई ।
यसै बीच
म कहिले के भएँ
कहिले कहाँ पुगें
कहिले के बनाइएँ
कतिले उचालेर सगर पु¥याइदिए
कतिले पछारेर सागर धसाइदिए
झन लाग्दै गयो
म नै सबैथोक हुँ
म त अजम्बरी हुँ ।
मैले ठानेँ
म त रावण हुँ अपहरण गर्न सक्ने
कंश हुँ हत्या गर्न सक्ने
हिरण्यकशिपु हुँ हुँकार गर्न सक्ने
अंगुलीमाल हुँ मान्छेको बूढी औँलाको
माला लगाउन सक्ने ।
अरुको कुनै हुन दिइँन
सबै आफ्नै बनाएँ
चर्को आवाज गर्दै खुट्टा बजाएर
सबैलाई कुल्चिएर
दास बनाएको ठानें
आफुले आफैंलाई सबैको मालिक
भन्ने ठानें ।
म जस्तोलाई
एक दिन समय सरासर आएर
मेरो बाटो छेक्यो
मैले उसलाई केही नगनेर
हुँकारगर्दै दम्भपूर्वक
हट्ने आदेश दिएँ
त्यतिमात्र होइन
नत्रभने….
भन्नसमेत बाँकी राखिन
तर समयले
मलाई सुन्दै सुनेन
सरक्क उचालेर फालिदियो
मेरो शरीरलाई र
मलाई मुठ्ठिभित्र राखेर लिएर गयो ।
मैले केही भन्नै नपाई
मेरो मृत्यु भयो, त्यसबेला
मेरा नाता र सम्पत्ति कोही पछि लागेनन्
फगत आफ्नो कर्ममात्र
लिएर गइरहेको छु
समयको साथमा
भन्न सक्दिन अब मैले
कहाँ ओर्लेर
फेरी बाबा ब्ल्याक सिपको पाठ
घोक्नुपर्ने हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक