नयाँ बुद्धको खोजी : त्रिलोचन आचार्य (कविता )

नयाँ बुद्धको खोजी : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन
काठमाडौं, जेठ १९।

१. जैल्यै गरी ध्वंश विध्वंशमा बल
छन् पाइला स्वार्थतिरै सधैँ छल
प्राचीन संस्कार कता बिसाइयो ?
वा बुद्धका भाव सबै डुवाइयो ।

२. के भावना आँउछ चित्तमा सधैँ
छन् ध्यान सम्पत्ति निमित्तमा सधैँ
निर्धक्क पैसातिर नित्य धाइयो
वा मोजमस्तीतिर नै रमाइयो ।

३. आदर्शका छन् सबका कुराहरू
बोकेर आफ्नै करमा छुराहरू
विश्वास डुङ्गा दहमा डुवाइयो
मै शक्तिशाली छु भनी रमाइयो ।

४. गर्दै अनेकौँ अपराधका कुरा
निर्धा र दुब्ला सँगमा व्यथा पुरा
हत्या बलत्कार हुने सधैँ सयौँ
लाग्दैछ हामी पशुझैँ हुँदै गयौँ ।

५. को दीनको दर्द घटाउँ भन्छ र ?
को हीनको हालत फेर्छु भन्छ र ?
बढ्दा अनास्था दिल यो जलाउँछ
रोपेर माया कहिले पलाउँछ ?

६. कोही जबर्जस्त कुनै त निर्बल
कोही सधैँ माथि कुनै सधैँ तल
यो श्रृङ्खला खै कहिले छुटाउने ?
यैँ बुद्ध अर्को पनि जन्मिए हुने ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।