सानेको अनुरोध : बिष्णु उप्रेती ( लघुकथा)
कपन अनलाइन
काठमाडौं, जेठ १३।
‘पंडित जी, म एउटा कुरा भन्छु, न रिसाउनु होस् है !
हजुरआमाको तेह्रदिनको काम सकेर, अनगिन्ति सरसामान, सुनचाँदी, रुपैयाँ पैसा, लैनो गाई, समेत लिएर बिदा हुन लागेका पुरोहितका छेउमा गएर सानेले भन्यो ।
‘के भन्न आँटिस् त फुच्चे ? लु भन ।’ पुरोहितले सानेलाई हेर्दै भने ।
‘हाम्री हजुरआमा मर्दा त, हजुरलाई धेरै धेरै फाईदा हुँदोरहेछ है ?’ सानेले पुलुक्क पुरोहितका मुखमा हेरेर भन्यो ।
‘के भन्छ यो फुच्चे ? कुरै नबुझी ।साना मुखले ठुलो कुरा गरेको सुहाउँदैन । पर जा ।‘सानेलाई हप्काए । केटाका कुराले पुरोहितको अनुहार रातो पिरो भयो ।
सानेले अलिपर सरेर भन्यो, ‘म मरेपछि तल माँझीगाउँका गरिब केटाकेटीलाई सालैपिच्छे हिउँदमा, न्यानो कपडा, ज्याकेट मेरा नाममा बाँडिदिनू, अनि मेरो मनले शान्ति पाउँछ भनेर केही दिन अघि हजुर आमाले भन्नु भएको थियो तर हाम्रा बाबाले पटक्कै मान्नु भएन । हजुरले धेरै थोक पाउनु भयो । यो गाई बाच्छो चै तल माँझीगाउको गरिब माँझी बाबैलाई दिनु होला है अनि मात्र मेरी हजुरआमाको मनले शान्ति पाउँछ गुरु बा !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।