अदृश्य भाइरस :मनीषकुमार शर्मा ‘समित’ (लघुकथा)
कपन अनलाइन
काठमाडौं, जेठ १३।
‘हाम्रो पनि केही दाल गलेन ।’ मानवजातिको विनासको कारकको रूपमा रहेका भाइरसहरूको बैठकको सभापतित्व गरेको कोभिड १९ले हरेस खाँदै भन्यो ।
‘हो ! हामी जति सशक्त भए पनि हाम्रो विरुद्ध बनेको खोपले हाम्रो प्रयास निष्फल गरायो ।’ सार्सले
थप्यो ।
‘मलाई त झन उठ्नै नसक्ने गरेर लडाए ।’ औलोले निरासा व्यक्त गर्यो ।
‘अब के गर्ने? के हाम्रो योजना असफल नै हुने हो त ?’ स्क्रब टाईफसले शंका गर्यो ।
‘किन हरेस खाएको ? हेर म अझ पनि
डटिरहेको छु’ – डेङ्गुले केही हौसला बढाउन खोज्यो ।
‘यो पटक म प्रयास गर्नेछु ।’ अकस्मात् आएको आवाजले उनीहरू सबै आवाज आएतिर फर्के ।
‘को हौ तिमी ? सामुन्ने किन आउँदैनौ ?“ सबैले एकै स्वरमा प्रश्न गरे ।
‘म अदृश्य छु तर मैले गर्ने कार्यको अनुभव गर्न सक्नुहुन्छ ।’ – उसको आवाजमा दृढता थियो । केही समयको सरसल्लाह पछि उसलाई जिम्मेवारी सुम्पियो । नभन्दै उसले आफ्नो जिम्मेवारी वहन गर्यो । उसलाई बधाई दिन पूनः एक पटक बैठक बस्यो ।
‘हैन, तिमीले मानव जातिलाई थला बस्ने गरी नै प्रहार गर्यौ त ! त्यस्तो के गर्यौ हँ ?’ सबैको प्रश्न थियो ।
‘तपाईँहरूले भौतिक आक्रमण गर्नु भयो, मैले मानसिक ।’ हाँस्दै अदृश्य भाइरसले जवाफ दियो । उता मानवजाति अवरूद्ध ईन्टरनेटले छटपटिरहेका थिए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।