जब म बुढो हुनेछु : भावना न्यौपाने (कविता )
कपन अनलाइन
काठमाण्डौ , बैशाख ३१।
जब म बुढो हुनेछु के तिमीहरुले साथ दिनेछौ ?
जब म बुढो हुनेछु मेरो शरिर जीर्ण हुनेछ मलाई
तिमीहरुको साथ चाहिन्छ त्यतिबेला के तिमीहरुले
मलाई साथ दिनेछौ ?
जब म बुढो हुनेछु कान सुन्न नसकुला
कुरा बुझ्न नसकुला
के तिमीहरुले एउटै कुरा दोहोराएर सुनाउन
बुझाउन सक्नेछौ ?
जब म बुढो हुनेछु दात नहुन सक्छ
खाँदा गला लाग्न सक्छ
के तिमीहरुले सधैं गिलो खाना बनाएर
खुवाउन सक्नेछौ ?
जब म बुढो हुनेछु तागत पनि कमजोर हुनेछ
अचानक मेरो हातबाट तिमीहरुले किनेका
महगो शिसाको गिलास फुट्न सक्छ
के तिमीहरुले गाली नगरी माफ गर्न सक्नेछौ ?
जब म बुढो हुनेछु आँखा देख्न नसकुला,
हात गोडा चल्न नसक्ला
के तिमीहरुको हातले खुवाएर मेरो भोक प्यास मेटाउनेछौ?
जब म बुढो हुनेछु हाडजोर्नी दुखेर
पिडा सहन नसकी रन्थनिदै कराउनेछु, रुनेछु
के तिमीहरुले त्यतिबेला मेरो पिडा कम गर्न
हात गोडामा मालिस लगाउनेछौ ?
जब म बुढो हुनेछु, रोगी हुनेछु र
असक्त भई बिछौनामै रहनेछु
के तिमीहरुले मलाई घिन नमानिकन
स्याहारसुसार गर्न सक्नेछौ ?
जब म बुढो हुनेछु मेरो अन्तिम समय आउनेछ
मेरो स्वास जान गाह्रो हुनेछ
के त्यतिबेला तिमीहरुले मलाई रामको नाम सुनाएर
पार लगाउन सक्नेछौ ?
जब म बुढो हुनेछु
अन्तिम श्वास लिई यस धर्तीबाट बिलिन भई
आकाशबाट सधैँ नियालिरहनेछु
के तिमीहरुले पनि मलाई सधैँ सम्झनामा राख्नेछौ,
के तिमीहरुले पनि मलाई सधैँ सम्झनामा राख्नेछौ ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक