आत्मीयता : सकुन देवकोटा (कथा)
कपन अनलाइन
काठमाडौं, पुस ७ ।
काठमाडौं, पुस ७ ।
ऊसको र मेरो वास्तविक नाता सम्बन्ध त केही पनि थिएन, तर एउटा छुट्टै किसिमको आत्मीयता
थियो । एकदिन कुरै कुरामा उसले आफूले रक्सी खाने गरेको कुरा बताइएको थियो । धुम्रपान चाहिँ पहिलेभन्दा अलि कम भएको सुनायो । जवाफमा मैले, रक्सी त खाऊ तर रक्सिले तिमीलाई नखाओस् नी भनिदिएको थिएँ । त्यसको करिब एक महिनासम्म हाम्रो सम्पर्क हुन सकेन । त्यो बीचमा सम्पर्क गर्न मैले पनि नखोजेको त होइन तर उसको र मेरो अनुकूल समय मिलेन सायद त्यसैले केही सम्पर्क थिएन ।
एकदिन अचानक फोनको घण्टी बज्यो फोन हातमा थियो । झस्किदै यसो हेरे विमल नाम देखायो । मेरो मुहारमा हल्का मुस्कुराहट आएको महसुस भयो । ओहो आज यसले फोन ग¥यो कसरी सम्झियो किन सम्झियो कता होला ? भन्ने सोच्दा सोच्दै चार घण्टी बजिसकेको रहेछ । मैले ‘हेल्लो’ मात्र भनेको थिएँ । उसले ‘तिमी कता, कहाँ, के गर्दै एकछिन भेटौं न ल’ भन्दै एकै सासमा कुरा सक्कायो । मैले पनि केही सोच्दै नसोची ‘त्यस्तो केही छैन नजिकै छु ल हुन्छ, नी त यहाँ आऊ’ भनि दिएँ । उसले आफैले एउटा सामान्य रेस्टुरेन्टको नाम दिएर ‘यहाँ आउ न’ भन्यो ।
करिब १५ मिनट पछि म उसले बोलाएको ठाउँमा पुग्दा ऊ पानीको गिलास उचालेर मुखमा राख्दै देखें । म नजिक पुगेर उभिएँ । उसको अनुहार म तर्फ फर्कियो । हल्का मुस्कुराएको भावमा ऊ उठ्यो । मैले हात जोड्दै नमस्कार बोले तर उसले जवाफमा मलाई अंकमाल ग¥यो । अरु साथीसँगको अंकमाल भन्दा उसँग अली आत्मियताको अंकमाल हुने गर्दथ्यो तर आज त्यो भन्दा पनि अझै आत्मीयताको महसुस भयो । किनकि विगतको भेटमा करिब ३ सेकेन्डमा सकिने उसको अंकमाल आज करिब १ मिनटसम्म पनि छुट्नुको सट्टा झन् कसिलो हुँदै थियो । मैले यताउती
हेरेँ । त्यहाँ सबैले हामीलाई नै हेरिरहेको महसुस भयो । मैले उसलाई आफूबाट छुटाउँदै सोधे ‘के भयो ? किन बोलाएको यसरी ?’
उसको आँखा रसिलो देखेपछि म अली हडबडाउदै फेरि सोधे ‘के भयो ?’ उसले मेरो हात समाएर बस्ने इसारा ग¥यो । हामी दुवै आमने सामनेको कुर्सीमा बस्यौ । उसले ‘के खाने’ सोध्यो मैले ‘पानी’ भनिदिए । पानी आयो उसलाई पनि पिउने इसारा गर्दै मैले आफ्नो पानीको गिलास रित्याए । उसको मुहार मलिन देखेर मैले देखावटी मुस्कुराहट निकाल्दै बोले, ‘के हो हजुर आज पनि पिउने हैन त ? म पनि पिइदिउँ, की के हो आज’ भन्दै जिस्किएँ । उसले तत्काल मेरो हात समाएर बोल्यो ‘हुँदैन’ ।
‘किन ?’
‘तिमीले हुन्छ । मैले हुँदैन ?’
फेरि मेरो दुवै हात समाउदै उ बोल्यो ‘हुँदैन किन कि मैले भोगिसकेको छु ।’
अलमलको पारामा म बोले, ‘मैले कुरा बुझिन नी’
मेरा अरु पनि केटी साथीहरु छन् तर अरु भन्दा तिमी अली फरक छौ । तिमी व्यवहारिक छौ, तिमी बुझ्न सक्ने छौ, अरूको मनको कुरा तिमी भाव बाटै बुझिदिन्छौं । बोल्नै पर्दैन । त्यसैले हो की तिमीसँगको भेट मलाई विशेष लाग्छ । त्यसैले त तिमीसँग हरेक दुःख सुख सेयर गर्न खुशी लाग्छ ।
‘हा हा हो है त्यस्तो पो ! कति जानेको हो मक्ख पार्न’ मैले अली जिस्काएको भाव देखाइदिएँ । उसले ‘कस्सम’ भन्दा पनि म हाँसेको जस्तो गरिदिए पछि ऊ एकै सासमा बोल्यो ‘मेरो एउटा किड्नी काम गर्नै नसक्ने भएको छ ।’
‘ह्वाट ?’ भन्दै मैले उसको अनुहारमा हेरें ऊ फेरि बोल्यो ‘हो, मेरो एउटा किड्नी टोटल्ली ड्यामेज भइसकेछ ।’ ‘कसरी यस्तो भयो कहाँ कहिले देखाएको’ म केही सोध्नै सकिन उसको त्यो मधुर बोली र अनुहार देख्दा कसिलो अंकमाल गर्न मन लाग्यो उसको नजिकै पुगेर बेस्सरी अँठ्याउने गरी उसलाई आफूमा टासें । मायाले कसेँ, या दयाले केही थाहै भएन तर यसरी कसेँ की अघिसम्म वरिपरि अरूले देखलान् भनेर डराएकी म अहिले कसैको वास्तै नगरी डर र लाजको महसुस नगरी उसलाई आफूसँग टास्नमै ब्यस्त थिएँ ।
‘छैन नाता उसको र मेरो,
तर गहिरो सम्बन्ध छ ।
छैन कुनै चाहना आज
उसको पीडामा सहानुभूति छ ।
छैन अरु पुकार मेरो
खुशी उसको फर्कियोस् भन्ने छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।