शैक्षिक चिन्तन : रमेशचन्द्र घिमिरे ( लघुकथा)

शैक्षिक चिन्तन : रमेशचन्द्र घिमिरे ( लघुकथा)
कपन अनलाइन
काठमाडौं, पुस ७ ।
स्कुल जाँदै गरेका हेडसर चौतारामा भेटिए । मलाई देखेर गफ गर्न खोजे र एकोहोरो बोलिरहे, ‘अहिलेका केटाकेटीको कामै छैन । पढ्नै खोज्दैनन् ।’
मैले ‘अँ’ भनेर मुन्टो हल्लाएँ ।
‘अभिभावकलाई पनि आफ्ना छोराछोरीको पढाइप्रति चासो छैन । पढाउनै खोज्दैनन् ।’
मैले ‘हो’ भनेर समर्थन गरेँ ।
‘राज्यको त झन् कत्ति पनि कामै छैन । शिक्षालाई प्राथमिकतामा राखेकै छैन ।’
मैले ‘त्यही त नि !’ भनेर सहमति जनाएँ ।
त्यति नै बेला दस बजेको लामो घन्टी बजेको सुनियो । हेडसरको शैक्षिक चिन्तन सकिएकै थिएन ।
‘अनि विद्यालय प्रशासनका बारेमा, प्रअका बारेमा र सरहरूका बारेमा पनि केही समस्या छन् कि, हेडसर ?’ मैले यति प्रश्न राख्नासाथ उनी झर्किए, ‘सुन्नुभएन, घन्टी बजेको ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।